दोलखामा मनाइयो रक्तदाता दिवस

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ ३१
दोलखामा मंगलबार विश्व रक्तदाता दिवस मनाइएको छ । रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नाराका साथ दिवस मनाइएको हो । दिवसको अवसरमा सदरमुकाम चरिकोटमा आयोजित रक्तदान कार्यक्रममा ६ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी दोलखाको समन्वयमा स्वयंसेवी रक्तदाता समाज र खोरथली सामुदायिक वन समितिद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटीका सभापति गोकर्ण प्रसाद पोखरेलले दिवसको अवसरमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गर्ने र रक्तदान गरी जीवन दान गर्नेहरूलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले एक मानिसको रगत दानबाट अर्काे मानिसको ज्यान बचाउन सकिने भएकोले स्वस्थ मानिसले रक्तदान गरी पुण्य कमाउन सकिने बताउनुभयो । “पुण्य कमाउन अन्त जान पर्दैन । रक्तदान गरे हुन्छ । त्यसबाट मानवीय दायित्व वा धर्म पूरा भई पुण्य आर्जन हुन्छ ।“ उहाँले भन्नुभयो ”शल्यक्रिया गर्नुपर्ने बिरामी र सुत्केरीका लागि रगतको खाँचो पर्छ । रगत नपाए उनीहरूको ज्यानै खतरामा पर्छ । यस्तो अवस्थामा रगत दान गरी खतराबाट बचाउने रक्तदातालाई बिरामीले भगवान मान्छन् । त्यसैले रक्तदाता बनौँ।“
मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिनको अवसरमा विश्व रक्तदाता दिवस मनाइन्छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि रक्तदान र रक्तदान सम्बन्धी सचेतनामूलक कार्यक्रम दिवस मनाउन सुरु गरिएको थियो । मंगलबार नेपालमा पनि रक्तदान, ¥याली, कोणसभा लगायतका कार्यक्रम गरी रक्तदाता दिवस मनाइएको छ । एक स्वस्थ मानिसले तीन महिनाको फरकमा रक्तदान गर्न सक्छ ।

Shares

Be the first to comment on " दोलखामा मनाइयो रक्तदाता दिवस"

Leave a comment

Your email address will not be published.


*