ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ २४
दोलखामा जिल्ला प्रशासन कार्यालयबाट मात्रै वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब वडाबाटै वितरण गर्न तयारी थालिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चरिकोटमा सोमबार एक कार्यक्रमको आयोजना गरी जिल्लाको ७४ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न तयारी सुरु भएको जानकारी दिएको हो ।
असारदेखि असोजसम्म वडाबाटै अभियानकाे रुपमा राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको जानकारी दिँदै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक ललित कुमार बस्नेतले भन्नुभयो ”जिल्ला प्रशासन कार्यालयबाट मात्रै वितरण हुँदै आएकोमा असारदेखि वडास्तरबाटै वितरण गरी सबैलाई राष्ट्रिय परिचयपत्रको पहुँचमा ल्याउन लागिएको हो । त्यसका लागि आवश्यक जनशक्ति, सामाग्री र उपकरणको व्यवस्थापन गर्ने कार्य सुरु भएको छ ।“ उहाँका अनुसार प्रत्येक वडामा एक वटा स्टेशन रहने छ । परिचय पत्र बनाउनेहरुको संख्याको आधारमा आवश्यता देखिएमा स्टेशन थपघट हुन सक्ने छ ।
नागरिकको प्रणाम र पहिचान दिने एक झोला कागजपत्रलाई विस्थापित गर्न राष्ट्रिय परिचय पत्रको अवधारणा र महत्व भएको उल्लेख गर्नुहुँदै १६ वर्षदेखि माथीका सबै नागरिकले अब राष्ट्रिय परिचयपत्रको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । यसैको आधारमा सरकारी सहित विभिन्न सेवा प्राप्त गर्न सकिने भएकोले यसको महत्व सबैलाई जानकारी हुनपर्ने निर्देशक बस्नेतले बताउनुभयो । उमेर पुगेका नागरिकले सक्कल नागरिकता, बसाइँसरी आएको भए बसाइसराइँ प्रमाणपत्रको प्रतिलिपी, विवाह गरी आएको भए विवाह दर्ताको प्रमाणपत्र प्रतिलिपी साथमा ल्याई राष्ट्रिय परिचयपत्र बनाउने सकिने छ । परिचयपत्रको लागि विवरण दर्ता गर्दा गल्ती गर्न नहुने, पछि परिचयपत्रमा गल्ती भए ५ सय रुपैयाँ तिरेर सच्याउन सकिने उहाँले बताउनुभयो । जिल्लामा वडास्तरबाट परिचयपत्र वितरणको काम सुरु गर्न लागिएकोले जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला लगायतको सहयोग आवश्यक रहेको उहाँले सुनाउनुभयो । राष्ट्रिय परिचय पत्र बनाउनकै लागि दुर्गम र ग्रामीण क्षेत्रबाट समय र रकम खर्च गरी चरिकोट आउनुपर्ने बाध्यता थियो । तर अब भने वडाबाटै परिचयपत्र वितरण सुरु हुने भएकोले समयको बचत हुने भन्दै नागरिकहरु खुशी भएका छन् । काठमाडौँमा रहेका दोलखाका नागरिकहरुले भने त्यहीँ परिचयपत्र प्राप्त गर्न सकिने छ ।
Be the first to comment on "दोलखाको सबै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने"