गाउँ पालिकाको भवन सर्बसम्मति निर्णय जुटाई बनाइने छ – प्रमुख केसी

बाबुराम शर्मा (चरिकोट) –तामाकोसी गाउँपालिका अध्यक्षमा गठबन्धनका नेकपा एकिकृत समाजवादीबाट निर्वाचित हुनुभएका प्रोणप्रताप केसीले पहिलो प्राथमिकतामा किसान प्रत्यक्ष लाभान्वित हुने कृषि तथा पशुपालनका क्षेत्रमा काम गर्ने बताउनु भएको छ ।
कृषि तथा पशुपालनलाई दिगो भरपर्दो बनाउन गाउँपालिका, किसान र सहकारीको सामूहिक किसान हित कोष स्थापना गरिने छ । सहकारीसँग पैसा छ, उसको लगानीको बाटो हुन्छ । अपनत्व सावित गर्न किसानको पनि कोषमा लगानी हुने छ । यसमा गाउँपालिका र सहकारीको ३५÷३५ र किसानको ३० प्रतिशत रहने उहाँले बताउनु भयो ।
चुनाबी घोषणापत्रमा महत्वकांक्षी र भ्रामक सपना बाँडेको पनि छैन । मैले ठूला त्यस्ता कुनै सपना देखको पनि छैँन । उहाँले भन्नु भयो, हितकोषको रकम कृषक समूह र वडाको सिफारिसमा पालिकाबाट निर्णय गरी लगानी गरिने छ । कोष वृद्धिका लागि दुईदेखि पाँच प्रतिशत व्याज लगाइने छ । यसबाट कोष वृद्धि हुनुका साथै घुम्ती कोष बनाइने छ । यसबाट किसान व्यावसयिक बनेर आयआर्जन हुने अपेक्षा राखिएको छ ।
किसानका ससाना समस्या समाधान गर्ने एउटै सपना छ । उनीहरु यिनै समस्यामा अल्झिएका छन् । यही कुराले पिरोलेको छ । हामीले ठूला सपना देखेर के हुन्छ ? कृषकलाई उकास्न पालिकाले उत्पादनका आधारमा अनुदान पनि दिने छ । अब भैँसी र बाख्रा किन्न पैसा होइन, दुध तथा मासुमा अनुदान दिने गर्दा सबैभन्दा ठुूलो उपलब्धि त्यही हुन्छ ।
पालिकामा रहेका सामुदायिक वन समूहलाई सक्रिय बनाई राम्रो आम्दानी हुने कटहरलगायतका भौगोलिक वातावरणमा हुने फलपूmल खेतीमा जोड दिइने छ । यसले पनि स्वरोजगारमा टेवा पुग्ने छ ।
आपसी खिचातानीले पाँच वर्षसम्म पनि निर्माण हुन नसकेको गाउँ पालिकाको भवन सर्बसम्मति निर्णय जुटाई बनाइने छ । भवन नहुँदा सेवा प्रवाहमा निकै समस्या भएको छ । उहाँले भन्नु भयो, विशेष ध्यान प्रशासनीक भवन निर्माणमा दिन्छौँ । यसबाट सेवा प्रवाहमा सहज हुँदा सबै विषयमा सहज हुन्छ ।
यसपछिको गर्नै पर्ने काम सडक सुधारको काम देखिएको छ । ट्रयाक खोलिएका सडकलाई बाह्रै महिना यातायात चल्न सक्ने बनाउन क्रमशः सोलिङ र कालोपत्रे गरिने छ । विकासको पूर्वाधार मानिएको सडक बनिसकेपछि पालिकावासीलाई आवागमनमा सहज हुने छ । वर्षा लागेपछि बाटोकै समस्या हुन्छ, त्यसैले सडक सुधारमा ध्यान दिनु नै पर्ने देखिएको छ ।
पालिकावासीका दैनिक जीवनसँग जोडिएका विषय नै आफ्नो प्राथमिकताको क्षेत्र हुने जानकारी दिँदै अध्यक्ष केसीले भन्नु भयो, विद्यालयका भौतिक पूर्वाधार बनिसकेका छन् । सामुदायिक शिक्षाको अवस्थामा सुधार गर्नु पर्ने छ । गुणस्तर शिक्षाका लागि शिक्षकलाई तालिम दिइने छ । शिक्षकको उच्च मनोबलका लागि पुरस्कार तथा दण्डको व्यवस्था गरिने छ ।
विद्यार्थीको उच्च शिक्षा हासिल गर्नका लागि पालिकाले एक सय र अभिभावकले एक सय रुपियाँको गाउँकै सहकारीमा बचत गर्ने व्यवस्था मिलाउन लागिएको पनि उहाँले बताउनु भयो ।
गाउँमा रहेका स्वास्थ्य क्षेत्रको सुधार गरी पालिकावासीको घर घरमा स्वास्थ्य सेवा पु–याउन आवश्यक पहल गरिने छ । हितकोषको रकमले कृषिमा आधुनिकीकरण गरी युवालाई रोजाइको पेसामा संलग्न गराई गाउँमा नै स्वरोजगारको अवस्था सिर्जना गर्नतिर लाग्ने छु ।
हितकोषबाटै समाजमा पछि परेका महिला, अल्पसङ्ख्यक, दलित समुदायको क्षमता विकास, आर्थिक र सामाजिक विकासका लागि काम गर्ने बताउँदै उहाँले भन्नु भयो, सामाजिक सुरक्षा, आर्थिक सशक्तीकरण, गरिबी निवारण, रोजगारीका कार्यक्रमलाई पनि प्रभावकारी रूपमा सञ्चालन गर्नु आवश्यक ठम्याएको छु ।
गाउँ र सहरमा रहेका विषयगत विषेशज्ञहरुको वर्षमा एक पटक भेला गराई आवश्यक सरसल्लाह तथा सुझाब लिएर काम गर्न थालिने छ । योजना छनौटमा तल्लो तहसम्मको प्रतिनिधित्व हुने व्यवस्था मिलाउन लागिएको छ । सुशासन तथा पारदर्शीका लागि प्रत्ेक कामको अनुगमन गरी मूल्याङकन गरिने पनि उहाँले बताउनु भयो ।

Shares

Be the first to comment on "गाउँ पालिकाको भवन सर्बसम्मति निर्णय जुटाई बनाइने छ – प्रमुख केसी"

Leave a comment

Your email address will not be published.


*