ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ २३
दोलखाको कालिञ्चोक गाउँपालिका–३ सिंगटी स्थित कालिनाग माविको नयाँ भवन निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । गत वर्षको माघ महिनाबाट सुरु भएको विद्यालयको दुई वटा भवनको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक दाताराम नेपालले बताउनुभयो ।
चिन सरकारको सहयोगमा निर्माणाधीन अपिस, कम्प्युटर, विज्ञान प्रयोगशाला र पठनपाठन कक्षसहित ४० वटा कोठा रहने छन् । अनुमानित ८५ करोड लागतमा निर्माण हुने विद्यालयको भवन चिनको सिनो हाइड्रो निर्माण कम्पनीले निर्माण गरिरहेको प्रधानाध्यापक नेपालले बताउनुभयो । विद्यालयमा चमेना गृह पनि निर्माण भएको छ । विद्यालयको लागि सात रोपनी जग्गा पर्याप्त नभएपछि सामुदायिक वनले २० रोपनी जग्गा उपलब्ध गराएको थियो । सोही जग्गामा अहिले दुई सुविधा सम्पन्न भवन निर्माणाधीन छ । अग्रेँजी महिना डिसेम्बर सम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कम्पनीले काम गरिरहेको प्रधानाध्यापक नेपालले बताउनुभयो।
तत्कालिन जिल्ला शिक्षा कार्यालयले निर्माण गरिदिएको चार कोठे भवन, सिटीसी नेपालले बनाइदिएको भवन सहित २० वटा कोठा रहेको पुरानो भवनहरुको कक्षाकोठामा अहिले पठनपाठन कार्य भईरहेको छ । नयाँ भवन निर्माणसँगै विद्यालयमा विद्यार्थीको आकर्षण र गुणस्तर बढ्ने अपेक्षा लिइएको छ ।
Be the first to comment on "विद्यालयको भवन निर्माण कार्य ७० प्रतिशत सम्पन्न"