कार्यपालिकाको पूर्णतासँगै पालिकाले गर्न थाले निर्णय

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ २२
दोलखाका नाै वटै पालिकामा कार्यपालिकाले पूर्णता पाएसँगै बैठक बसी निर्णय हुन थालेका छन् । निर्वाचित नयाँ जनप्रतिनिधि र सदस्यहरुले पदभार ग्रहण गरेसँगै कार्यपालिका पहिलो बैठक सञ्चालन गरी धमाधम विभिन्न निर्णय गर्न थालेका हुन् ।
तामाकोशी गाउँपालिकामा १८ गते सम्पन्न कार्यपालिका बैठकले चार वटा निर्णय गरेको छ । गाउँपालिकामा आयोजना हुने सभासमारोह तथा कार्यक्रमहरुमा खादाब्याजको प्रयोग नगर्ने र मालालाई प्रोत्साहन गर्ने निर्णय भएको छ । हाल गाउँपालिकामा बैँकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण भईरहेकोमा पूर्ण असक्त एवं अपाङ्गता भएका लाभग्राहीको सहजता र सुविधाका लागि आगामी आर्थिक वर्षदेखि बैँकको सहयोगमा वडास्तरबाटै वितरण गर्ने निर्णय भएको पालिका अध्यक्ष प्रोणप्रताप केसीले बताउनुभयो ।
यस्तै १ कक्षा देखि १२ कक्षा सम्मका विद्यार्थीको खातामा मासिक १ सय शैक्षिक रकम बचत गरिदिने निर्णय गरिएको छ । पालिकामा स्थायी बसोबास रही पालिकाभित्रकै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक प्रगतिमा सहयोग गर्ने उद्धेश्यअनुरुप आगामी आर्थिक वर्षबाट बचत गरिदिने निर्णय गरिएको अध्यक्ष केसीले बताउनुभयो ।
बैठकमा पालिकाको स्थायी कार्यालय भवन निर्माणको लागि ५० रोपनी जग्गा दान गर्न आह्वान गर्ने निर्णय गरिएको छ । सोही निर्णय अनुसार जफेको मानेडाँडा र मालु डाँडागाउँ आसपासमा जग्गा दान गर्न माग गरिएको अध्यक्ष केसीले बताउनुभयो । दानमा जग्गा प्राप्त भए पालिकाको कार्यालय भवन निर्माण प्रक्रिया सुरुवात गरिने उहाँले बताउनुभयो ।
बैतेश्वर गाउँकार्यपालिकाको पूर्णतासँगै १६ गते बैठक सम्पन्न भएको छ । कार्यपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा सम्पन्न बैठकमा २० वटा निर्णय भएका छन् । गाउँपालिकाको लागि अस्थायी प्रहरी चौकी माग गर्ने र वडा नंं ६ मा अस्थायी प्रहरी चौकी माग गर्ने, मैनापोखरी बजारमा सुरक्षाको लागि सिसी क्यामारा जडान गर्ने निर्णय भएको छ । सामाजिक सुरक्षा भत्ता नागरिकको घरघरमा पुगी वडा सचिव मार्फत वितरण गर्ने, आगामी बजेट तथा कार्यक्रम मार्फत डाक्टर उत्पादन गर्न प्रोत्साहन गर्ने, एक वटा शवबाहनको व्यवस्था गर्ने, बैतेश्वर गाउँपालिका भित्रका कक्षा ५ सम्मका विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन गरिने र कम्प्युटर शिक्षालाई अनिवार्य गर्ने निर्णय गरिएको पालिका अध्यक्ष लामाले बताउनुभयो । आगामी आवमा गाउँपालिकाको मुख्य केन्द्र जोड्ने नाम्दु बजार देखि पाँडुडाँडा सम्मको सडक कालोपत्रे गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाई विकास निर्माणमा टेवा पु¥याइने निर्णय भएको छ । यस्तै सञ्चार र प्रविधिको क्षेत्रमा काम गर्ने उद्धेश्य अनुरुप पालिकामा एउटा रेडियो स्थापना गर्न पहल गर्ने समेत निर्णय भएको उहाँले बताउनुभयो ।
पालिका प्रवक्ताको रुपमा वडा नं. २ का वडाध्यक्ष श्याम कुमार तमाङलाई छनौट गर्ने लगायतका निर्णय कार्यपालिका बैठकमा भएको छ ।
कार्यपालिको बैठकले विभिन्न समिति पनि गठन गरेको छ । पालिका उपाध्यक्ष कल्पना उप्रेतीको अध्यक्षतामा न्यायिक समिति, श्यामकुमार तामाङको संयोजकत्वमा सामाजिक विकास समिति, भीम बहादुर तामाङको संयोजकत्वमा आर्थिक विकास समिति गठन गरिएको छ ।
यस्तै, कमल अधिकारीको संयोजकत्वमा पूर्वाधार विकास समिति, अशोक तामाङको संयोजकत्वमा सुशासन तथा संस्थागत विकास समिति र कुमार चौलागाईँको संयोजकत्वमामा वन वातावरण तथा विपद् व्यवस्थापन समितिको गठन गरिएको छ ।
गाउँकार्यपालिकाको बैठकमा भएका निर्णयहरु गाउँपालिकाको वेबसाइटमा सार्वजनिक गर्ने बैतेश्वर जिल्लामै पहिलो पालिका हो । अन्य पालिकाहरुमा पनि कार्यपालिकाको प्रथम बैठक सम्पन्न भएको छ । तर केकस्तो निर्णय भए नागरिकलाई जान्नेबुझ्ने इच्छा भएपनि कुनै माध्यमबाट पनि नागरिकले थाहा पाउन सकेका छैनन् । सबै पालिकाहरुमा लाखौँ खर्चर बनाइएका वेबसाइट चालु छन् । तर महत्वका विषय त्यहाँ राखेको पाइदैन ।

Shares

Be the first to comment on "कार्यपालिकाको पूर्णतासँगै पालिकाले गर्न थाले निर्णय"

Leave a comment

Your email address will not be published.


*