बाबुराम शर्मा
चरिकोट, जेठ २१
दोलखाको भीमेश्वर नगरपालिकाले दोलखा र सिन्धुपाल्चाकको सिमानामा सुविधा सम्पन्न प्रवेशद्वार निर्माण गरिएको छ ।
दोलखा आउने पर्यटकहरुलाई जिल्लाको परिचय समेतको सूचना उपलब्ध गराई गन्तव्य अलमल पर्नबाट जोगाउन यो प्रवेशद्वार निर्माण गरिएको नगरका ईन्जिनियर सुरेश राउतले बताउनु भयो ।
उहाँका अनुसार जिल्ला प्रवेश गर्ने बित्तिकै यहाँ निर्मित सूचना केन्द्रबाट पर्यटकीय क्षेत्र, होटलहरुलगायतका सूचना प्राप्त हुन्छ । कालिञ्चोक भगवती मन्दिर, भीमेश्वर मन्दिरलगायतका मठमन्दिरको यथार्थ विवरण सूचना केनद्रबाट पाइन्छ । सूचना केन्द्रबाट जिल्लाकै सम्पूर्ण परिचय पाएपछि ढुक्क भएर गन्तव्यस्थलमा पुग्न सजिलो हुने छ ।
यहाँ शौचालय, खाजाघर, कोशेलीघर पनि सञ्चालनमा छन् । लामो यात्रामा भएको तनाब मेटाउन एक कप तातो चिया÷कफी पिएर जिल्लामै उत्पादन भएका वस्तुहरु किनेर आरामसँग जिल्लाको घुमघाम गर्न सजिलोको लागि यी संरचना निर्माण गरिएको नगरका ईन्जिनियर राउतले बताउनु भयो । प्रवेशद्वारमा आकर्षक भीमेश्वर, गणेश, मच्छिन्द्र नाथ, बुद्धको मूर्ति टाँसिएको छ । अष्टमङगलले सजाइएको छ । पाखा पउँमा पित्तलको ड्रयागन कर्निस निर्माण गरिएको छ । दुई तले भवनमा सूचना केन्द्र र खाजाघर सञ्चालनमा रहेको छ । अर्को भवनमा कोशीघर सञ्चालनमा छ । सार्वजनिक शौचालयको पनि व्यवस्था गरिएको छ । सुरुमा ७२ लाख ४४ हजारमा ठेक्कामार्फत र उपभोक्ता समितिमार्फत ६० लाख गरी एक करोड ३२ लाख ४४ हजार रुपियाँ नगरको लागत लागेको बताइन्छ ।
Be the first to comment on "आकर्षक प्रवेशद्वार"