ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ १५
अंग्रेजी अक्षर एल आकारको ठूलो भवन । आकर्षक झ्याल ढोका, अघिल्लो तिर लहरै पिलर । छानामा पहेंलो रङ्गको गजुर । कलात्मक शैलीको उक्त भवन झट्ट हेर्दा सुविधा सम्पन्न रिसोर्ट जस्तो पनि लाग्न सक्छ। तर त्यो त विद्याको मन्दिर अर्थात् विद्यालय भवन हो । प्राचीन, ऐतिहासिक र सांस्कृतिक सहर दोलखा बजारमा आकर्षक बनेको छ, राजकुलेश्वर आधारभूत विद्यालयको भवन । भवन बनेपछि विद्यालयका शिक्षक विद्यार्थी दङ्ग छन् । अभिभावक पनि आफ्ना छोराछोरीलाई सुविधा सम्पन्न विद्यालयमा पढाउन पाउँदा खुसी छन् । २०७२ को विनाशकारी भूकम्पले दोलखाको निजी घरसंगै पुरातात्विक महत्वको भवन, विद्यालयमा समेत क्षति पुगेको थियो । निजी घर तथा पुरातात्विक भवनहरु यस अघि निर्माण भइसकेको छ । तर राजकुलेश्वर आविको भवन भने बल्ल बनेको हो । ढिलै भएपनि भवन बनेपछि विद्यार्थीहरु रमाउँदै अध्ययन गर्न पाउने भएका छन् ।
पाँच करोड ४५ लाख २१ हजार लागतमा निर्माण सम्पन्न भएको २५ कोठे उक्त भवन हेल्प नेपाल नेटवर्क, रोटरी क्लब दरबार स्क्वायर पाटन र टेक्सास नेपाली समाजको आर्थिक सहयोग र प्राविधिक सहयोगमा र राजहिटी समाज दोलखाको सक्रियतामा निर्माण भएको हो । विद्यालयका प्रधानाध्यापक प्रकाश दाहालका अनुसार नवनिर्मित भवनमा अपिस कक्षसहित अध्ययनका लागि कक्षा र एक वटा सामुदायिक कक्ष रहेको छ । भवन निर्माणको लागि सम्झौता गरिएको सात वर्षपछि निर्माण कार्य सम्पन्न भएको हो । कोरोना महामारी र लकडाउनको कारण निर्माण कार्य प्रभावित भएको थियो । तर अहिले पूर्ण रुपमा सम्पन्न भएपछि पठनपाठन कार्य सूचारु भएको प्रधानाध्यापक दाहालले बताउनुभयो । आइतबार एक कार्यक्रमका बीच विद्यालय भवन हस्तान्तरण गरिएको छ । भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धर र विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रको आथित्यतामा भवन हस्तान्तरण गरिएको हो ।
उहाँहरुले विद्यालय भवन आकर्षक बनेकोमा प्रशंसा गर्दै विद्यार्थी संख्या र शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने जोड दिनुभएको थियो । नगरप्रमुख मानन्धरले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावकको सहयोग, शिक्षकको सहजीकरण र सक्रियता र विद्यार्थीको लगनशीलता अपरिहार्य हुने उल्लेख गर्नुभयो । उहाँले आफू नगरमा भर्खरै प्रमुखको रुपमा आएकोले नगरको शिक्षा क्षेत्रलाई उकास्न यस क्षेत्रका विज्ञ, शिक्षक र अभिभावकसँग छलफल र सुझावको आधारमा विभिन्न योजना तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गरिने बताउनुभयो ।
विद्यालयको कक्षा कोठाको तुलनामा विद्यार्थी संख्या कम रहेकोले विद्यार्थी संख्या बढाउन रणनीतिक योजना निर्माण गरी कार्य गरिनुपर्ने उहाँले बताउनुभयो । विद्यालय हस्तान्तरण कार्यक्रममा शिक्षाप्रेमी आत्माकृष्ण श्रेष्ठले दिवा खाजा कार्यक्रमको लागि ५० हजार रुपैयाँ विद्यालयलाई सहयोग गर्नुभएको थियो । त्यसैगरी विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरु उत्साहित भएका थिए । कार्यक्रममा विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठ, वडाध्यक्ष स्टालिन श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अजय प्रधान, राजहिटी समाजका अध्यक्ष विक्रम मल्ल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Be the first to comment on "विद्यालयको आकर्षक भवन, विद्यार्थी उत्साहित"