दीक्षण समाचार
चरिकोट, जेठ १२
एक युवक मृत फेला परेपछि दोलखा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । गौरीशंकर गाउँपालिका वडा नंं ३ झ्याँकुको जंगलमा सोही गाउँका २४ वर्षीय युवक यानबहादुर बस्नेत मृत अवस्थामा फेला परेपछि “हत्या भएको” र “त्यसमा संलग्न भएको” आशंकामा परिवारको जाहेरीका आधारमा पाँच जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा झ्याँकुकै पाँच पुरुष रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता शुसिल केसीले बताउनुभयो । तर उहाँले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गर्न नमिल्ने बताउनुएको छ ।
गाउँको एक विद्यालयमा लेखापालका रुपमा कार्यरत यानबहादुर कांग्रेसबाट वडाध्यक्षका प्रत्यासी दिलबहादुर बस्नेतका छोरा हुनुहुन्थ्यो । बुधबार उहाँको शंकास्पद रुपमा मृत शरीर फेला परेपछि हत्या आशंकामा अनुसन्धानलाई व्यापकता दिइएको उहाँले बताउनुभयो । “ घटना शंकास्पद देखिएकोले व्यापक अनुसन्धान सुरु गरेका छौँ । सोही क्रममा मृतकको परिवारको जाहेरीका आधारमा गाउँकै पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।” उहाँले भन्नुभयो, “ उहाँहरुलाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । नाम बताउन अहिल्यै मिल्दैन ।” पक्राउ परेकाहरुलाइ हिरासतमा राखेर अनुसन्धान जारी राखिएको उहाँले जानकारी दिनुभयो ।
मंगलबारदेखि नै सम्र्पकविहीन रहनुभएका यानबहादुर सर्सेपु आवि नजिकै जंगलमा मृत अवस्थामा फेला पर्नुभएको थियो । शवको घाँटीमा डोरी भएको र डोरी आधा चुँडिएर शव भुईँमा रहेको अवस्था थियो । घटनाको प्रकृति हेर्दा गम्भिर र शंकास्पद देखिएकोले विभिन्न कोणबाट अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाइने प्रहरी निरीक्षक केसीले बताउनुभयो । उहाँका अनुसार हत्या वा आत्महत्या भन्ने कोणबाट अनुसन्धान जारी राखिएको छ ।
Be the first to comment on "यानबहादुरको मृत्यु प्रकरण, अनुसन्धान गर्दै प्रहरी"