दोलखामा प्रविधिले सहज बन्दै कृषि

राजकुमार भुजेल
चरिकोट, बैशाख १९
दोलखाका किसानले पराम्परागत प्रणालीलाई त्यागी आधुनिकता अपनाउँदा कृषिबाट अपेक्षाकृत फाइदा लिन सकिन्छ भन्ने महत्व बुझ्न थालेका छन् । जिल्लामा अहिले कृषिमा बिउबिजनको प्रयोग देखि प्रविधिको प्रयोगमा किसानहरुले छलाङ मार्न थालेका छन् ।
विषेश गरी जिल्लामा किसानहरुले कृषि कर्मलाई सजिलो बनाउने उपाय खोज्दै जाँदा आधुनिक कृषि प्रविधिको समेत प्रयोगलाई बढाउन थालेका छन् । किसानहरुले अन्नबाली रोप्न देखि भण्डारण गर्न सम्म आधुनिक प्रविधिको उपयोग गर्न थालेका छन् । खेतबारी जोत्न मिनिटिलरका साथै धान, गहुँ झार्ने थ्रेसरको प्रयोग समेत बढाएर कृषिलाई सहज बनाएका छन्
वैशाखको उखरमाउलो गर्मी र चुनाव सरगर्मीमा पनि ग्रामीण क्षेत्रका अधिकांश किसानहरु खेतबारीमा व्यस्त छन्। किसानलाई गहुँ भित्र्याउने चटारो छ । बैशाखको मध्यबाट उकालो चढ्दै गर्दा अधिकांश किसानले गहुँ भित्र्याइसकेका छन् । गहुँ भित्र्याउने किसानहरुले थ्रेसरको प्रयोग गरेका छन् । भिमेश्वर नगरपालिका वडा नं ७ स्थित काउले वेसिका किसान गहुँ झार्नै व्यस्त छन् । उनीहरु पहिलेको झैँ गरी गहुँ झार्दैनन्, अहिले त थ्रेसरले गहुँ झार्छन् भित्र्याइरहेका छन् । कृषक निरा खड्काले आफ्नो घरमा प्रविधिको सहायताले गहुँ झारेको बताउनुहुन्छ । प्रविधिको प्रयोगवाट झारेको गहुँ नाङ्लोमा राखेर केलाउन नपरेपछि किसानको लागि निकै नै भरपर्दो र सहजता मिलेको उहाँले उत्साहित हुँदै बताउनुभयो । उहाँले भन्नुभयो ”खेतमा काटेर सुकाएर राखेर गहुँ पहिले जस्तो लौरोले कुट्न र निफ्न पनि परेन । अब दुखका दिन गए । थ्रेसरले भुस एकातिर र अर्काे तिर गहुँ निकालिदिन्छ ।‘ मेसिनबाट गहुँ झार्न चाँडो र सहज भएको उहाँले बताउनुभयो । यता माथिल्लो उखुबारी चालिसेबेँसीका किसान सुनमाया भुजेल भन्नुहुन्छ ”गहुँ कुट्ने मेसिन गाउघरमा आएसँग यसैको प्रयोग गरी सहजै गहुँ भित्र्याएँ । लौरो गहुँ कुट्न परे । केलाउन पनि परेन । निकै काइदा भयो नि ।‘ गाउँघरमा प्रविधिको प्रयोग हुँदा चार पाँच दिन लाग्ने काम एकैदिन सहजै सम्पन्न हुने गरेको छ । गहुँ खेतीका लागि किसानले आधुनिक यन्त्रको प्रयोग गर्न थालेपछि प्रतिवर्ष गहुँको उत्पादन बढ्दो रुपमा रहेको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय दोलखाले जनाएको छ । किसानहरु प्रविधितर्फ उन्मुख भएका छन् । समयसापेक्ष कृषि प्रविधि प्रयोग गरी उत्पादन बढाउन सकिने उदाहरण किसानहरुले देखाउन थालेका छन् । आधुनिक प्रविधिका कारण कृषि पेशा सहज र झन्झटिलो रहीत बनेको र उत्पादनमा समेत बृद्धि हुन थालेपछि किसानहरू उत्साहित छन् । दोलखाजस्तो हिमाली जिल्लामा किसानहरुको प्रविधितर्फ पहुँच हुन थालेपछि कृषि मजदुर अभाव हुने समस्या पनि घटेको छ ।

Shares

Be the first to comment on "दोलखामा प्रविधिले सहज बन्दै कृषि"

Leave a comment

Your email address will not be published.


*