ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख १९
चुनावमा होमिएका नेतालाई जति चटारो छ । त्यति नै चटारो छ डिजाइनर र छापाखाना कर्मचारीलाई । राजनीतिक दल र उम्मेदवारको चुनाव चिन्ह र तस्बिर अंकित तुल, व्यानर, भिजिटिङ कार्ड र झन्डाको माग बढेसँगै उनीहरूको व्यस्तता बढेको हो ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसार सामाग्रीको व्यापक माग छ । एक महिना अघिदेखि यसको माग आउन थालेकोमा अहिले चुनाव नजिकिँदै गर्दा धान्नै नसक्ने अवस्था हुन थालेको प्रिन्टिङ प्रेस सञ्चालकहरुले बताएका छन्।
चुनावमा होमिएका उम्मेदवारहरु झन्डा फहराउँदै, ब्यानर सहित मतदाताको घरदैलोमा पुगिरहेका छन् । उम्मेदवारको पहिचान र चुनाव चिन्ह सबैले सजिलै बुझ्न सक्ने भएकोले झन्डा र ब्यानर अनिवार्य भएको छ । जसले गर्दा ती सामग्री उत्पादन गर्ने छापाखाना फस्टाएको हो । शनिबार सदरमुकाम चरिकोट बीचबजारमा अवस्थित अवार्ड पोइन्टमा सञ्चालक मदन श्रेष्ठ आफ्ना कर्मचारी सँगै प्रचारप्रसार सामाग्रीको उत्पादनमै व्यस्त हुनुहुन्थ्यो । नेपाली कांग्रेसको चुनाव चिन्ह अंकित झन्डा गन्दै उहाँले आफूहरुलाई पनि चुनाव लागेको सुनाउनुभयो । चुनाव लागेसँगै आफुहरु राजनीतिक दल र उम्मेदवारहरुको लागि प्रचारप्रसारका सामग्री उत्पादनमा व्यस्त भएको बताउनुभयो। “२५ दिन अघिदेखि हाम्रोमा चुनावी सामाग्रीको माग आउन थालेको थियो। अहिले त चुनाव नजिकिएको र उम्मेद्वारहरुले मनोनयन दर्ता गरी चुनाव चिन्ह समेत पाइसकेकोले झन्डाको माग अत्याधिक बढेको छ ।” उहाँले भन्नुभयो “दिनमा एक हजार देखि १५ सय सम्म झन्डा बिक्री हुने गरेको छ । अझै बढ्ने सम्भावना देखिएको छ ।”
अहिले विषेशगरी झन्डा, ब्यानरको माग बढी छ। त्यसैले धमाधाम बिहानदेखि बेलुकासम्मै खटेर डिजाइन, छाप्ने, मिलाउने र सम्बन्धित व्यक्तिलाई हस्तान्तरणको काम हुने गरेको मदन श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार २५ दिनको अवधिमा कांग्रेस, एमाले, राप्रपा लगायतका दल र स्वतन्त्र उम्मेद्वारले १२ हजारभन्दा बढी ब्यानर र झन्डा लगिसकेका छन् ।
कोरोनामा महामारी र लकडाउनको कारण व्यापार शून्य भएको थियो । तर स्थानीय तहको निर्वाचनले व्यापारसँगै आम्दानी समेत बढाइदिएको अवार्ड पोइन्ट सञ्चालक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ”कोरोनाले ब्यापार चौपट थियो । यहाँका कर्मचारी पनि बेरोजगार अवस्थामा थिए । तर अहिले चुनाव आयो । हाम्रो व्यापार बढाइदिएको छ । यस अघिको राजनीतिक दलको अधिवेशनमा पनि उत्तिकै व्यापार भएको थियो ।“ उम्मेद्वारलाई मतदाता माझ परिचित गराउने भएकोले ब्यानर र झन्डा बनाउन चाहनेहरुको दिनहुँ फोन आउन थालेको उहाँले बताउनुभयो । २०७४ सालको निर्वाचनमा प्रचारप्रसार सामाग्री प्रयोगमा त्यति कडाइ थिएन । जसले गर्दा सो बेला ज्याकेट, टिसर्ट, कमिज, गम्छा, क्याप बिक्री भएको थियो । तर यो वर्ष भने निर्वाचन आयोगले प्रचारप्रसार सामाग्रीको प्रयोगमा कडाइ गरेकोले मापदण्ड अनुसारको झन्डा, ब्यानर र भिजिटिङ कार्ड मात्र उत्पादन तथा बिक्री गरिएको उहाँले बताउनुभयो । डिजाइनर सलिन सेवाले उम्मेद्वारको चाहना अनुसार ब्यानर तथा भिजिटिङ कार्डको डिजाइनमा आफूलाई चटारो रहेको सुनाउदैँ भन्नुभयो “सामाजिक सञ्जालमा पनि प्रयोग गर्न मिल्ने भएकोले ती सामाग्रीहरु बनाउनेको लर्काे छ ।” कांग्रेस पार्टी कार्यालय अघि रहेको क्रियटिभ स्टुडियो पनि चुनावी प्रचारप्रसार सामाग्रीले भरिएको छ । यहाँ पनि फ्लेक्स प्रिन्ट ब्यानर, झन्डा, भिजिटिङ कार्ड बनाउन सञ्चालकहरु व्यस्त भएका छन् । वर्षभरी व्यस्त हुने क्रियटिभ स्टुडियो चुनावको बेला थप व्यवस्तामा रहेको छ । सञ्चालक भीमशेन श्रेष्ठले गाउँगाउँमा झन्डा र ब्यानरको अत्याधिक प्रयोग हुन थालेकोले यसको उत्पादनलाई पनि व्यापक बनाइएको सुनाउनुभयो । चुनावले आम्दानीमा समेत बृद्धि गरिरहेकोले कर्मचारीलाई समेत खुशी बनाउन सकिएको उहाँले बताउनुभयो ।
दोलखामा निर्वाचनको सर्वत्र चर्चा चलिरहेको छ । सामाजिक सञ्जालमा प्रचार सामाग्रीले रँगिन बनाइएको छ । त्यसैगरी घरघरमा दलका चुनाव चिन्ह अंकित झन्डा र चोकचोकमा तुल ब्यानर टाँस गरिएको छ । प्रचारप्रसारलाई ब्यापक बनाइएको छ । निर्वाचन आयोगले आचारसंहितामै उल्लेख गरी कपडा, टोपी, ज्याकेट, टिसर्ट, कमिज, गम्छा लगायत प्रयोग गर्न कडाई गरेपपिछ यसको प्रयोग भने गरिएको हाल सम्म पाइएको छैन । तर झन्डा र ब्यानर भने धेरै प्रयोग भएको पाइएको छ ।
Be the first to comment on "दोलखामा प्रचारप्रसार सामाग्रीको बढ्यो माग"