दीक्षण समाचार
चरिकोट, बैशाख १५
दोलखामा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म २९ वटा सवारी दुर्घटनामा परेको छ । तर मानवीय क्षति भने कम भएको पाइएको छ । ती दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ । कार्यालय प्रमुख विष्णुराज पुरीले जिल्लामा दुर्घटना बढेको भएपनि मृत्यु भने घटेको सुनाउनुभयो । उहाँले भन्नुभयो“ ९ महिनाको अवधिमा २९ वटा दुर्घटना भए । त्यसमा धेरै घाइते भए तर मृत्यु भने कम भयो ।” जिल्लामा अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको उहाँको भनाई छ । उहाँको अनुसार बोलेरो, मोटरसाइकल लगायत गरी २९ वटा सवारी दुर्घटनामा परेकोमा ७२ जना घाइते भएका थिए। तीव्र गतिमा सवारी कुदाउनु, मदिरा सेवन गरी सवारी चलाउनु, निन्द्रामा हुनु, आँखाको समस्या, हतार गर्नु, क्षमता भन्दा बढी यात्रु तथा समान बोक्नु लगायत ट्राफिक नियम मिचेर सवारी चलाउँदा दुर्घटना भएको हो । त्यस्तै पुराना र थोत्रा सवारी साधन चलाउनु, यान्त्रिक खराबी र सडकको दुराबस्था लगायतका कारण सवारी दुर्घटना भएको कार्यालय प्रमुख पुरीले बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा दुर्घटना न्यूनीकरणको लागि सक्दो प्रयास गर्ने सुनाउनुभयो । ”त्यसका लागि कडा चेकजाँच र छड्के अनुगमनलाई प्रभावकारी बनाइने छ ।“ उहाँले भन्नुभयो । दुर्घटना सतप्रतिशत रोक्न त सकिदैन । तर न्यूनीकरण गर्न र मानवीय क्षति कम गर्न सकिन्छ । दुर्घटना हुनै नदिने मुख्य भूमिका चालकको हुन्छ । ”यदि चालकले सवारी साधनको अवस्था ख्याल गर्नुका साथै ट्राफिक अनुशासन कायम गरेको खण्डमा दुर्घटना स्वतः न्यूनीकरण हुन्छ । साथै सडक सुरक्षामा प्रहरी र समुदायको पनि उक्तिकै दायित्व रहन्छ ।“ उहाँले भन्नुभयो ”प्रहरीले चाहेरमात्रै दुर्घटना न्यूनिकरण हुन सक्दैन । तर चालकले ट्राफिक नियमको पालना गरेमा अवश्य पनि सवारी दुर्घटना न्यूनिकरण गर्न सकिन्छ ।“ उहाँले दुर्घटनाको अर्को मुख्य कारक साँघुरा र अव्यवस्थित सडक भएकोले त्यस्ता सडकलाई वैज्ञानिक तवरबाट स्तरोन्नति र व्यवस्थित गरिनुपर्ने बताउनुभयो । सडक सुरक्षालाई ध्यानमा राख्दै चालकहरूको स्वास्थ्य परीक्षण, समुदायसँग निरन्तर अन्तरक्रिया तथा सचेतना अभिवृद्धिका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको प्रमुख पुरीले बताउनुभयो । उहाँले पछिल्लो समयमा सवारी साधनको चाप बढ्दै गएको र ट्राफिक नियम उल्लङ्घनका समस्याहरू बढ्दै गएको तर ट्राफिक अनुशासन कायम गर्न प्रहरी जनशक्ति कम हुँदा समस्या भएको बताउनुभयो । आवश्यक कागजात बिना नै सवारी साधन चलाउनेहरुका कारण पनि जोखिम बढ्दै गएको उहाँको भनाइ रहेको छ ।
३३ लाख बढी राजस्व संकलन
चालु आर्थिक वर्षको सुरुदेखि चैत्र मसान्तसम्मको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ३३ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । ट्राफिक नियम मिच्ने तीन हजार २ सय ५० वटा सवारीसाधनलाई कारबाही गर्दा ३३ लाख २८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको हो । ती सवारी मध्ये सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेको छ । कार्यालयका अनुसार एक हजार ९६ वटा मोटरसाइकल कारबाहीमा परेको छ । जसबाट दश लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी जिप सात सय ७९ वटा कारबाही गर्दा ८१ लाख ३५ हजार रुपैयाँ, बस ५ सय ४३ वटा कारबाहीमा पर्दा सात लाख ७७ हजार राजस्व संकलन भएको छ । आठ सय २७ वटा ट्रक कारबाहीमा परेकोमा छ लाख ४० हजार, एक वटा ट्याक्टरलाई कारबाही गरिँदा एक हजार रुपैयाँ र अन्य चार वटा सवारीसाधनलाई कारबाही गर्दा दुई हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख पुरीले बताउनुभयो । उहाँका अनुसार अनुमति पत्र नबोक्ने, क्षमताभन्दा बढी बोक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने चालक तथा सवारीलाई कारबाही गरी जरिवाना तिराइएको हो ।
Be the first to comment on "दोलखामा नौ महिनामा २९ सवारी दुर्घटना, चारको मृत्यु"