दोलखामा बाजागाजा, सांस्कृतिक झाँकी र जुलुससहित उम्मेद्वारी मनोनयन दर्ता

गठबन्धन दलका उम्मेद्वारी मनाेनयनकाे क्रममा

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख १३
सोमबार स्थानीय तह निर्वाचनको लागि उम्मेद्वारी मनोनयन दर्ता गर्ने अन्तिम दिन । चरिकोट स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भीमेश्वर नगरपालिकाका चार दलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरुको भीड लाग्यो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादीका विभिन्न पदका उम्मेद्वारसहित नेता तथा कार्यकर्ताहरु हातहातमा झन्डा फहराउँदै जुलुस, बाजागाजा र नेवारी, थामी र तामाङ समुदायको सांस्कृतिक झाँकीसहित मनोनयन दर्ताको लागि एकसाथ अधिकृतको कार्यालयमा पुगेका हुन् । कार्यालयमा पुग्नासाथ भीमेश्वर नगरपालिकामा कांग्रेसको तर्फबाट पालिका प्रमुख पदमा ईश्वरनारायण मानन्धरले सर्वप्रथम उम्मेद्वारी मनोनयन दर्ता गराउनुभयो र उपप्रमुखमा नेकपा समाजवादीको तर्फबाट संगीता पाख्रिनले उम्मेद्वारी दर्ता गर्नुभयो । यसरी नै पालैपालो नौ वटै वडामा वडाध्यक्ष र वडासदस्य पदका उम्मेद्वारहरुले मनोनयन पत्र दर्ता गराए । चौतर्फी काँडेतारले घेरिएको र सुरक्षाकर्मी तैनाथ गरी सुरक्षित पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर भने नेता तथा कार्यकर्ताहरुले जुलुस लगाए । आफ्नो पार्टीको चुनाव चिन्ह अंकित पोशाक तथा विभिन्न भेषभूषा र पहिरनमा सजिएका कार्यकर्ताहरु पञ्चैबाजा, डम्फू र ढ्याङ्ग्रोको तालमा नाचेका थिए । सोमबार मनोनयन दर्ताको पालो पाएको गठबन्धन दलले जिल्लाको नौ वटै पालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेद्वारी मनोनयन दर्ता गराएको छ ।

 

नेपाली कांग्रेसका सभापति बर्मा लामाले गठबन्धनका साझा उम्मेद्वारले पार्टीका नेता तथा कार्यकर्ताको साथमा बाजा घन्काउँदै पालिकापालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गई उत्साह र शान्तिपूर्ण तवरबाट मनोनयन दर्ता गराएका जानकारी दिनुभयो । उहाँका अनुसार जिरी नगरपालिकामा नेपाली कांग्रेसको तफबाट प्रमुख पदमा लाक्पा शेर्पा र नेकपा माओवादी केन्द्रको तर्फबाट उपप्रमुख पदमा तेज बहादुर गोलेले मनोनयन दर्ता गराउनुभएको छ । कालिञ्चोक गाउँपालिकामा कांग्रेसबाट अर्जुन प्रसाद शिवाकोटी र उपाध्यक्ष पदमा माआवोदी केन्द्रको तर्फबाट कुलबहादुर बुढाथोकी, मेलुङ गाउँपालिकामा अध्यक्षमा समाजवादीका तर्फबाट रबीन्द्र कार्की र उपाध्यक्षमा कांग्रेसका तर्फबाट भक्तबहादुर तामाङले उम्मेद्वारी पत्र दर्ता गर्नुभएको छ । त्यसैगरी बैतेश्वर गाउँपालिकामा कांग्रेसबाट छवि लामा र कल्पना उप्रेतीले मनोनयन दर्ता गराउनुभयो । तामाकोशी गाउँपालिकामा अध्यक्ष पदमा समाजवादीको तर्फबाट प्रोणप्रताप केसी र उपाध्यक्षमा कांग्रेसबाट सिर्जना सुवेदी, विगु गाउँपालिकामा अध्यक्षमा माओवादीका सञ्जीव ओली र उपाध्यक्षमा कांग्रेसका तर्फबाट आङनिमा शेर्पाले मनोनयन दर्ता गराउनुभएको छ । शैलुङ गाउँपालिकामा अध्यक्षमा माओवादीका रिमालबाबु श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसका दावादोर्जे तामाङ, गौरीशंकर गाउँपालिका अध्यक्षमा माओवादीका विश्वास कार्की र उपाध्यक्षमा कांग्रेसका तर्फबाट श्यामसुन्दर तामाङले मनोयनपत्र दर्ता गराउनुभएको कांग्रेस सभापति लामाले बताउनुभयो । नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागितामा उम्मेद्वारी मनोनयन दर्ता कार्य सम्पन्न भएको बताउँदै सभापति लामाले अब सबै पालिकामा जितका लागि प्रचारप्रसार र अन्य तयारी गरिने सुनाउनुभयो ।

 

मनाेनयन दर्ता गराउँदै गठबन्धन नेता । साथमा नेपाली कांग्रेसका नेता सन्ताेष रिमाल

मनोनयनका क्रममा एमाले उत्साह
मनोयनको पहिलो दिन आइतबार पालो पाएको नेकपा एमाले र राप्रपाले पनि आफ्नो तर्फबाट मनोनयन दर्ता गराएको छ । नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिमा सांस्कृतकि झाँकी र नाराजुलुससहित नौ वटै पालिका स्थित निर्वाचनको अधिकृतको कार्यालयमा गई पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य पदमा उम्मेद्वारी दर्ता गराइएको नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनुभयो । भीमेश्वर नगरपालिकामा अध्यक्षमा हरिवंश चौलागाईँ र उपप्रमुखमा कमला बस्नेत, जिरी नगरपालिकामा प्रमुखमा मित्र जिरेल र उपप्रमुखमा कृष्ण माया बुढाथोकीले अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुभएको छ ।

शैलुङ गाउँपालिका अध्यक्षमा धनबहादुर तामाङ र उपाध्यक्षमा पार्वती कार्की थापा, मेलुङ गाउँपालिका अध्यक्षमा हिरा कुमार थोकर र उपाध्यक्षमा गायत्री आचार्य कालिन्चोक गाउँपालिका अध्यक्षमा गणेश शिवाकोटी र उपाध्यक्षमा कविता थामीले मनोनयन दर्ता गर्नुभएको छ । विगु गाउँपालिका अध्यक्षमा अछुतम केसी र उपाध्यक्षमा देविका थामी, गौरीशंकर गाउँपालिकामा अध्यक्षमा जंग गुरुङ र उपाध्यक्षमा मुना शिवाकोटी, बैतेश्वर गाउँपालिकामा अध्यक्षमा माधव प्रसाद घिमिरे र उपाध्यक्षमा नविना लामा, तामाकोसी गाउँपालिकाका अध्यक्षमा अभिषेक सुवेदी उपाध्यक्षमा अम्बिका पोखरेलले सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता पत्र दर्ता गराउनुभएको नेकपा एमाले दोलखाले जनाएको छ । राप्रपा दोलखाले आइतबार चरिकोटस्थित हलो प्रदर्शन गर्नुका साथै पञ्चैबाजा बजाएर निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन दर्ता गरेको थियो । अन्य पालिकामा पनि उम्मेद्वारी मनोनयन दर्ता गरिएको राप्रपाले जनाएको छ । जिल्लामा उत्साहपूर्वक मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको निर्वाचन कार्यालय दोलखाले जनाएको छ । पञ्चैबाजा र झाँकीसहितको नाराजुलुसले बस्ती एक पटक उत्साहित र रौनकता छाएको छ ।

बाद्यबादककाे कुरा
तामाकोशी गाउँपालिका वडा नं. १ भीरकोटका कृष्ण नेपाली आफ्नो नेतृत्वको समूहले पञ्चैबाजा बजाउन माग आएपछि पार्टीको उम्मेद्वार मनोनयन दर्ताको क्रममा बाजा बजाउन सहभागी भएको सुनाउनुभयो । उहाँले पहिलो दिन एमाले, राप्रपा र दोस्रो दिन गठबन्धनको मनोनयन कार्यक्रममा पञ्चैबाजा बजाइएको बताउनुभयो । उहाँले भन्नुभयो “ हामी यो पार्टी त्यो पार्टी भन्दैनौ । जसले हाम्रो कलाको सम्मान र पारिश्रमीक दिन्छ, उसकोमा गई बाजा बजाउछौँ । यसले हाम्रो जिविकोपाजर्नन सहज हुन्छ ।”


निर्वाचन कार्यालय दोलखाका अनुसार दुई दिनमा नौ वटै पालिकामा एक हजार ४ सय २३ जनाले मनोनयन दर्ता गराएका छन् । ७७ जनाले पालिकाको अध्यक्ष तथा प्रमुख पदमा र ४० जनाले उपाध्यक्ष तथा उपप्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन् । त्यसैगरी तीन सय ७७ जनाले वडाध्यक्ष पदमा, चार सय ९० जनाले सदस्य पदमा, दुई सय ३० जनाले महिला सदस्यमा र दुई सय ९ जनाले दलित महिला सदस्यमा उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।निर्वाचन कार्यतालिका अन्तर्गत उम्मेदवारको विरोधमा वैशाख १३ गते उजुरी दिने समय तोकिएको छ । त्यसैगरी १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय हुने छ । वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने र १६ गते नाम फिर्ताको समय दिइएको छ । आयोगले १६ गते नै अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते चुनाव चिह्न दिने छ । ३० गते बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा बाजागाजा, सांस्कृतिक झाँकी र जुलुससहित उम्मेद्वारी मनोनयन दर्ता"

Leave a comment

Your email address will not be published.


*