दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख ८
दोलखामा आसन्न स्थानीय निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । सदरमुकाम चरिकोटमा बिहीबार एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने र भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख मान बहादुर खड्काले कार्यालयको उद्घाटन गर्नुभयो । जिल्ला प्रशासन कार्यालय नजिकै रहेको साबिकको महिला तथा बालबालिका कार्यालयको भवनमा कार्यालय स्थापना गरिएको छ ।  निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गराउने उद्धेश्य अनुरुप मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनुका साथै निर्वाचन अकिृत खटाइएको हो । दोलखा जिल्ला अदालतका न्यायधीस कविप्रसाद न्यौपानेले मुख्य अधिकृतको जिम्मेवारी पाउनुभएको छ । अधिकृत न्यौपानेले उद्घाटन कार्यक्रममा प्राप्त जिम्मेवारी अनुरुप निर्वाचनलाई सफल बनाउन आफ्नो भूमिका शसक्त बनाउने बताउनुभयो । निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित बनाउन राजनीतिक दल, नेता, कार्यकर्ता, मतदाता र सञ्चारकर्मीको तर्फबाट पनि सहयोग हुनुपर्नेमा मुख्य निर्वाचन अधिकृत न्यौपानेले जोड दिनुभयो ।
बिहीबार जिल्लाको अन्य आठ तहमा पनि निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरी अधिकृतहरु खटिएका छन् । उनीहरु निर्धारित कार्यतालिका अनुसार निर्वाचन सम्बन्धि प्रशिक्षण लिई सम्बन्धित पालिकामा खटिनुभएको हो । उनीहरुले बैशाख ११ गतेबाट निर्वाचन सम्बन्धि कार्य शुभारम्भ गर्नुहुने छ । जिल्ला निर्वाचन कार्यालय दोलखाका अनुसार जिरी नगरपालिकामा उच्च सरकारी वकिलको कार्यालय पाटनका उपन्याधिवक्ता नवराज पराजुली, कालिञ्चोक गाउँपालिकामा राष्ट्रिय कितावखानाका उपसचिव विजयराज बडु, गौरीशंकर गाउँपालिकामा जिल्ला समन्वय समिति दोलखाका उपसचिव होमप्रसाद घिमिरे, विगु गाउँपालिकामा जिल्ला अदालत दोलखाका श्रेष्तेदार शिवकुमार पोखरेल, तामाकोसी गाउँपालिकामा राष्ट्रिय सूचना आयोगका उपसचिव बावुराम खनाल, वैतेश्वर गाउँपालिकामा खानेपानी मन्त्रालयका उपसचिव बशिष्ट कुमार घिमिरे र मेलुङ गाउँपालिकामा सामान्य प्रसाशनका उपसचिव प्रल्हाद कार्की निर्वाचन अधिकृतको रुपमा खटिनुभएको हो । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले आचारसंहिताको पालना गराउने, उम्मेदवारको मनोनयन दर्ता, मनोनयन उपर उजुरी लिने, उजुरी उपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छन् । त्यसैगरी निर्वाचन चिह्न दिने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने कार्य गर्ने छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दोलखामा पनि यसको तयारी तीव्र पारिएको छ । निर्वाचनमा भाग लिने राजनीतिक दल उम्मेद्वार छनौटमा व्यस्त हुनुका साथै आफ्ना पक्षमा मतदाता आकर्षित गर्न केन्द्रीत चुनावी अभियानका साथ गाउँगाउँमा सक्रिय भएका छन् । भने निर्वाचन कार्यालय भने निर्वाचनलाई सफल पार्न जाँचोपाँजो मिलाउन आन्तरिक तयारीमा व्यस्त भएको छ । जिल्ला सुरक्षा समिति निर्वाचनलाई शान्तिपूर्ण बनाउन सर्तकता बढाएको छ ।

Shares

Be the first to comment on "दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन"

Leave a comment

Your email address will not be published.


*