दोलखामा कृषिगणनाः फिल्डमा खटिए कर्मचारी

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख ६
एक महिनाअघिबाट कृषिगणना सफल बनाउन तयारी गरिएको दोलखामा आजदेखि कर्मचारीहरु फिल्डमा खटिएका छन् । कृषिगणनको सार, कृषि योजनाको आधार भन्ने मुल नारासहित मंगलबारबाट सुरु भएको सातौँ राष्ट्रिय कृषिगणनाको लागि दोलखामा ६९ जना गणक र १८ जना सुपरिवेक्षक तथ्याङ्क संकलनार्थ फिल्डमा उत्रिएका हुन् । नौ वटा पालिका रहेको जिल्लामा १ सय ७० वटा गणना क्षेत्र तोकिएको छ । छनौट भएका सुपरिवेक्षक र गणकहरुलाई तालिम र आवश्यक सामाग्री प्रदान गरी कृषि गणनाको लागि गणना क्षेत्रमा पचिालन गरिएको जिल्ला कृषिगणना कार्यालय प्रमुख, जिल्ला कृषि गणना अधिकृत कमलराज गिरीले बताउनुभयो । आजदेखि खटिएका कर्मचारीहरुले जेठ १९ गतेसम्म अर्थात ४५ दिनभित्र पारिवारिक, व्यावासायिक तथा संस्थागत रुपमा सञ्चालन भइरहेका कृषिकार्यको विस्तृत तथ्याङ्क संकलन गर्ने छन् ।

कृषि अवस्थाको जानकारी पाउन र कृषि विकासको लागि योजना तर्जुमा एवं नीति निर्माणको सघाउका लागि कृषिगणना महत्वपूर्ण रहेकोले यसअन्तर्गत संकलित तथ्याङ्क सत्य, तथ्प, यथार्थपरक र विश्वसानीय हुने बताउनुभयो । ‘गणक तथा सुपरिवेक्षकलाई कृषि गणनाको महत्व, गणना पक्रिया, काम, कर्तव्य, अधिकार विषयमा सैद्धान्तिक ज्ञानसहित प्रयोगात्मक प्रशिक्षण दिएको छ । उनीहरुलाई आवश्यक सामाग्री सहित सुरक्षा प्रत्याभूतिको व्यवस्था गरी फिल्डमा परिचालन गरिएको हो । उनीहरु तालिमप्राप्त रहेकोले उद्धेश्य अनुरुपको गणना कार्य सफल हुनेमा हामी ढुक्क छौँ ।’
अहिले स्थानीय तहको निर्वाचनको चहलपहल बढेको छ । जसले गर्दा कहिँकतै कृषिगणनामा खटिएका कर्मचारीलाई अवरोध वा समस्या पैदा हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी सम्बन्धित निकायमा समन्वय र सहकार्य गरिएको छ । जसले गर्दा फिल्डमा उत्रिएका कर्मचारीहरु ढुक्क भएर आफ्नो भूमिका निर्वाह गर्न सक्ने वातावरण छ । उहाँका अनुसार निर्वाचनको समयमा केही दिन बिदा रहने तर निर्धारित समयमै कृषिगणना सम्पन्न गरिने छ । उहाँले गाउँगाउँमा कृषिगणनाको कर्मचारीहरु आउने भएकोले सम्बन्धित कृषकहरुले प्रश्नावलीमा आधारित विवरण टिपाउन सहयोग गर्न अनुरोध गर्नुभयो ।

उहाँका अनुसार घरपरिवारले गरेको कृषि कार्यको तथ्याङ्क छनौट विधिमा आधारित रहने भएकोले जिल्लाको सबै स्थानीय तहको छुट्टाछुट्टै तथ्याङ्क संकलन हुने छ । तथ्याङ्क संकलन कार्य निर्धारित समयमा एउटै समयसीमा भित्र दुई चरणमा गरिन्छ । प्रथम चरणमा गणकहरुद्धारा छानिएका गणना क्षेत्रका प्रत्येक व्यक्तिको घरदैलोमा पुगी तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका कृषक परिवारको सूचिकरण कार्य गरिन्छ । दोस्रोमा निश्चित तथ्याङ्किय छनौट विधिबाट सुपरिवेक्षकहरुद्धारा छानिएका कृषक परिवार (औषातमा २५ वटामा) मा पुगी गणकहरुद्धारा कृषक परिवार प्रश्नावली फाराम मार्फत कृषकले चलन गरेका जग्गा तथा पशुपन्छीपालन, अन्यखेती, वातावरण लगायतका विविध विषयसम्बन्धि विस्तृत विवरणहरु संकलन गर्नछन् ।

गणनाको लागि तीन वटा मुख्य प्रश्नावली रहेका छन् । कृषि गणना अधिकृत गिरीका अनुसार कृषक परिवार सूचिकरण लगत, कृषक परिवार प्रश्नावली र वडास्तरीय सामुदायिक प्रश्नावली कृषि गणनाको लागि तयार गरिएको छ । घर परिवारले गरेको कृषि कार्य, संस्थागत कृषि कार्य (सरकारी, अर्धसरकारी, सहकारी, व्यवसायहरुले गरेका कृषि कार्य), वडागत सामुदायिक कृषि सम्बन्धि क्रियाकलापहरु कृषि गणनामा समेटिने क्षेत्रहरु रहेका छन् । कृषि जग्गाको स्वामित्वको विषयमा भने गणना गरिने छैन ।
कृषिगणनाको तथ्याङ्क संकलन कार्यको समापनपछि जेठ २० देखि २४ गतेसम्म प्रश्नावलीको पूर्णता चेकजाँच गरिने र २५ गते सुपरिवेक्षक तथा गणकको बिदाई गरिने र जेठ मसान्तमा कार्यालय बन्द गरिने छ ।

Shares

Be the first to comment on "दोलखामा कृषिगणनाः फिल्डमा खटिए कर्मचारी"

Leave a comment

Your email address will not be published.


*