दाेलखामा ‘बुथ क्याप्चर’ हुन दिने छैनौँः प्रजिअ खतिवडा

इश्वर बिश्वकर्मा
चरिकोट, बैशाख ६
आसन्न स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण बनाउन दोलखामा जिल्ला सुरक्षा समितिले तयारी थालेको छ । बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनलाई दृष्टिगत गरी विषेश सुरक्षा योजनाका साथ स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न समिति सक्रिय भई सुरक्षा तयारीमा जुटेको हो । २०७४ सम्पन्न निर्वाचनको विश्लेषण गरी सोही आधारमा मतदान स्थलको अवस्था र संवेदनशीलताको पहिचान तथा अनुगमनअध्ययन गरी सुरक्षा व्यवस्था मजबुत बनाउन तयारी थालिएको सुरक्षा समितिका संयोजक, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताउनुभयो ।
उहाँका अनुसार मतदानस्थलको संवेदनशीलताका आधारमा विशेष सुरक्षा योजना बनाएर कडाईका साथ लागु गरिने र भयरहित वातावरणमा निर्वाचन हुने व्यवस्था मिलाउन लागिएको सुनाउनुभयो । उहाँका अनुसार संवेदनशीलताको आधारमा दोलखामा मतदान स्थलको वर्गिकरण तीन प्रकारमा गरिएको छ । जिल्लामा यो पटकको निर्वाचनका लागि ९४ वटा मतदान स्थल रहेकोमा ४१ वटा अतिसंवेदनशील, ३७ वटा संवेदनशील र १६ वटालाई सामान्य भनी वर्गिकरण गरिएको छ। जिल्लामा निर्वाचन अघि, निर्वाचनको समय र सोपछिको समयमा सुरक्षा व्यवस्था कडा पारिने प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिनुभयो । “गएको निर्वाचनमा भएका घटनालाई विश्लेषण गरी मतदान स्थलको वर्गिकरण गरिएको छ। तर अहिले अति संवेदनशील भनी वर्गिकरण गरिएको स्थल भोली समान्य पनि हुन सक्छ । सामान्य भनिएको स्थल पछि अति संवेदनशील पनि हुन सक्छ । यो परिस्थिति अनुसार फेरिरहने र परिवर्तन भईरहने कुरा हुन् । त्यसैले सबै मतदान स्थल र मतदान केन्द्रमा एक साता अघि नै सुरक्षा सतर्कता अपनाइने छ । विर्नाचनको बेला नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजबुत पारिने भएकोले अमर्यादित अप्रिय र हिंसात्मक घटना हुने छैन । जिल्लामा सुरक्षाकर्मी आवश्यक परेमा अन्य जिल्लाबाट पनि मगाइने छ ।“

उहाँले निर्वाचनमा मतदानस्थल, मतदान केन्द्र, निर्वाचन अधिकृतको कार्यालय, उम्मेदवार र मतदाताको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिने बताउनुभयो । उहाँले स्थानीय तहमा बुथ क्याप्चर गर्ने कुकृत्य हुन नदिन विषेश सर्तकता बढाइने सुनाउनुभयो । उहाँले भन्नुभयो “यो पटकको चुनावमा कसैले पनि बुथ क्याप्चर गर्न पाउदैन । स्वच्छ रुपमा जसलाई जनताले मत दिन्छन्, उसैले जित्ने हुन् । त्यो वातावरण हामी सबै मिलेर बनाउनुपर्छ । बुथ क्याप्चर हुन दिने छैनौँ ।” उहाँका अनुसार सुरक्षालाई चुस्त, दुरुस्त र मजबुत पार्नको लागि सुरक्षाकर्मी त्यो तयारीमा जुटेका छन् । त्यसैगरी ९ सय भन्दा बढी म्यादी प्रहरीलाई प्रशिक्षण दिएर सक्षम बनाउने कार्य भईरहेको छ । यतिले मात्र नपुग्ने देखिएकोले बाहिरी जिल्लाबाट पनि सुरक्षाकर्मी मगाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार निर्वाचनमा चुनौती हुन सक्ने भन्दै लाइसेन्स लिएर व्यक्तिले राखेका हातहतियार पनि प्रहरीकहाँ बुझाउन अनुरोध गरिएको छ । हालसम्म १४ जना हातहतियार व्यक्तिले बुझाएका छन् । अझै कतिले बुझाउन अटेर गरिरहेको पाइएकोले खोजीखोजी हतियार बरामद गरिने र निर्वाचन पछि फिर्ता गरिने उहाँले सुनाउनुभयो । निर्वाचनको बेला हातहतियार गलत प्रयोग हुन सक्ने भएकोले प्रहरीकहाँ आएर बुझाउन हातहतियार राखेका नागरिकहरुलाई अनुरोध गरिएको हो । उहाँले निर्वाचनलाई शान्तिपूर्ण बनाउन राजनीतिक दल, कर्मचारी, नागरिक र सञ्चारकर्मीको विषेश सहयोग अपरिहार्य हुने र सोही अनुसार सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।

Shares

Be the first to comment on "दाेलखामा ‘बुथ क्याप्चर’ हुन दिने छैनौँः प्रजिअ खतिवडा"

Leave a comment

Your email address will not be published.


*