दोलखामा २३ जना द्धन्द पीडित विद्यार्थीले छात्रवृत्ति पाउने

ईश्वर बिश्वकर्मा÷ चरिकोट, – दोलखामा चालु आर्थिक वर्ष सामुदायिक विद्यालयमा अध्ययरत २३ जना विद्यार्थीले छात्रबृत्ति पाउने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाईबाट १७ जनाले द्धन्द्धपीडित छात्रवृत्ति र ६ जनाले बैदेशिक रोजगार छात्रबृत्ति पाउने भएका हुन् । इकाइका लेखाजोखा संयोजक कल्याण बुढाथोकीले कार्यालयमा छात्रवृत्ति वितरणका लागि रकम प्राप्त हुनासाथ सम्बन्धित विद्यार्थीहरुलाई वितरण गरिने बताउनुभयो । उहाँले भन्नुभयो,“ वार्षिक रुपमा विद्यार्थीले सो शीर्षकमा छात्रवृत्ति पाउँछन् । चालु आवमा छात्रवृत्ति पाउने विद्यार्थीहरु छनौट गरी सिफारिस गरिएको छ । कार्यालयमा रकम निकासा हुनासाथ विद्यार्थीलाई वितरण गरिने छ ।” सशस्त्र द्धन्द्धको बेला अभिभावक गुमाएका १८ वर्षसम्मका विद्यार्थीलाई अध्ययनमा सहजताको लागि वार्षिक रुपमा द्धन्द्धपीडित छात्रवृत्ति प्रदान गर्ने गरिएको छ । जसअन्तर्गत प्राथमिक तह विद्यार्थीलाई प्रतिव्यक्ति १० हजार, निमावि १२ हजार, माविका विद्यार्थीलाई १४ हजार र उच्च मावि तहका विद्यार्थीलाई १६ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिन्छ । त्यसैगरी बैदेशिक रोजगारीका क्रममा निधन भएका नागरिकका सन्तानलाई अध्ययनका लागि बैदेशिक रोजगार छात्रवृत्ति प्रदान गरिन्छ । श्रम स्वीकृति लिइ बैदेशिक रोजगारी क्रममा करार अवधिभित्र मृत्यु भएका वा पूर्ण रुपमा असक्त भएका अभिभावकका छोराछोरीलाई शिक्षा विकास तथा समन्वय इकाईमार्फत छात्रवृत्ति वितरण हुने गरेको छ । सो शीर्षक अन्तर्गत आधारभूत तहका विद्यार्थीका लागि प्रतिव्यक्ति ८ हजार र माध्यमिक तहका लागि १२ हजार रुपैयाँ छात्रवृत्रि वितरण गरिने लेखाजोखा संयोजक बुढाथोकीले बताउनुभयो ।
उहाँका अनुसार गत वर्ष पनि बैदेशिक रोजगार छात्रवृत्ति ६ जना पाएका थिए, भने द्धन्द्धपीडित छात्रवृत्ति १७ जनाले पाएका थिए ।

Shares

Be the first to comment on "दोलखामा २३ जना द्धन्द पीडित विद्यार्थीले छात्रवृत्ति पाउने"

Leave a comment

Your email address will not be published.


*