तामाकोसी गाउँपालिकामा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा

दीक्षण समाचार/ चरिकोट, –जेष्ठ नागरिकहरु भेला भएर समय व्यतित गर्न सहजताको लागि तामाकोशी गाउँपालिकाले सुविधा सम्पन्न केन्द्र निर्माण गरेको छ । वडा नं. ४ मालुमा २५ लाख लागतमा निर्माण भएको जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आएको छ । भवन सञ्चालनमा आएसँगै जेष्ठ नागरिकहरु खुशी भएका छन् । उक्त मिलन केन्द्र जिल्लामै पहिलो पटक निर्माण भई सञ्चालनमा आएको हो । जेष्ठ नागरिकहरुको दैनिकी एक्लोपनामै बित्छ । जसले उनीहरुमा खिन्तता र चिन्ता उत्पन्न गरिरहेको हुन्छ । तर अब मिलन केन्द्र सञ्चालनमा आइसकेकोले आफू सरहका साथीहरु दैनिक भेला भई जेष्ठ नागरिकले भावना तथा कुराहरु एकअर्कामा साझा गर्न सक्ने छन् । भुलाकुसारी गर्नुसाथै आफू अनुकुल मनोरञ्जन लिन पाउने व्यवस्था मिलन केन्द्रले दिने छ । जेष्ठ नागरिकले धार्मिक तथा पौराणीक पुस्तक, पत्रपत्रिका अध्ययन गर्न पाउने सुविधा केन्द्रमा छ । जसले गर्दा जेष्ठ नागरिकको समय सिर्जनात्मक काममा व्यतित हुने गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताउनुभयो । टेलिभिजन, बाद्यबादनका सामाग्री, किताब सहित करिब पाँच लाखको सामाग्री व्यवस्थापन गरिएको मिलन केन्द्र जेष्ठ नागरिकको उपयुक्त थलो बन्ने अध्यक्ष पोखरेलले बताउनुभयो । केन्द्रमा जेष्ठ नागरिकको सहजताका लागि एक जना सहयोगी समेत खटाइएको उहाँले सुनाउनुभयो । मिलन केन्द्र नजिकै रहेको मालु स्वास्थ्य चौकीमा जेष्ठ नागरिककले स्वास्थ्यवस्था परीक्षण गर्न पनि सक्ने छन् । जेष्ठ नागरिकको माग र आवश्यकता अनुसार निर्माण भएको मिलन केन्द्रले उनीरुको आवश्यता परिपूर्ति हुनुका साथै खुशी हुने वातावरण सिर्जना भएको छ । पालिका जेष्ठ नागरिकको हितमा सदैव रहेको गाउँपालिका अध्यक्ष पोखरेलले बताउनुभयो ।

Shares

Be the first to comment on "तामाकोसी गाउँपालिकामा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा"

Leave a comment

Your email address will not be published.


*