निर्वाचन आयोगले तोक्याे निर्वाचन अधिकृत, दाेलखामा काे, कहाँ ?

दीक्षण समाचार
चरिकोट, चैत्र १३
निर्वाचन आयोगले निर्वाचनका लागि खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ । आगामी बैशाख ३० हुने निर्वाचनमा खटिने प्रयोजनका लागि छनोट भएका अधिकृतको नाम सार्वजनिक गरिएको हो । जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई चैत २९ देखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिन लागेको हो । दोलखाका जिल्ला न्यायधीय कवि प्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृत हुनुभएको छ । त्यसैगरी जिल्लाको ८ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटिने भएका छन् । जिरी नगरपालिकामा नवराज पराजुली निर्वाचन अधिकृत हुनुभएको छ । उहाँ उच्च सरकारी वकिल कार्यालय पाटनमा उपन्याधिवक्ता हुनुहुन्छ । कालिञ्चोक गाउँपालिकामा राष्ट्रिय किताबखाना ललितपुरका उपसचिव विजयराज बढु निर्वाचन अधिकृत बन्नुभएको छ । जिल्ला समन्वय समितिका उपसचिव होम प्रसाद घिमिरे गौरीशंकर गाउँपालिकाको निर्वाचन अधिकृतमा तोकिनुभएको छ । खानेपानी मन्त्रालयका उपसचिव (कानुन) बसिष्ट कुमार घिमिरेलाई वैतेश्वर गाउँपालिकामा निर्वाचन अधिकृत रुपमा आयोगले खटाउने भएको छ । तामाकोशी गाउँपालिकामा राष्ट्रिय सुचना आयोग काठमाडौंका उपसचिव बाबुराम खनाल, मेलुङ गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव प्रल्हाद कुमार कार्की, शैलुङ गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय दोलखाका जिल्ला न्यायधीवक्ता प्रकाश मरासिनी, विगु गाउँपालिकामा जिल्ला अदालत दोलखाका श्रेश्तेदार शिव कुमार पोखरेललाई निर्वाचन अधिकृत तोकिएको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई निर्वाचन सम्बन्धी अभिमुखीकरण तालीम प्रदान गरी खटाइने छ । उम्मेदवारको मनोनयन दर्ता, मनोनयन उपर उजुरी लिने, उजुरी उपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरूपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी रहेको छ ।

Shares

Be the first to comment on "निर्वाचन आयोगले तोक्याे निर्वाचन अधिकृत, दाेलखामा काे, कहाँ ?"

Leave a comment

Your email address will not be published.


*