कालिञ्चोक गाउँपालिका बन्यो दोस्रो बालमैत्री स्थानीय तह

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र १२
दोलखाको कालिञ्चोक गाउँपालिका बालमैत्री स्थानीय तह घोषित भएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अनुसार ५१ वटा सूचक पुरा भएपछि पालिकालाई बालमैत्री स्थानीय तहको रुपमा घोषणा गरिएको हो । कालिनाग माध्यमिक विद्यालय परिसरमा शनिबार आयोजित एक समारोहमा संघीय सांसद पार्वत गुरुङले बालमैत्री घोषण गर्नुभयो । चुनौती र कठिनाइलाई परास्त गरी पालिका बालमैत्री घोषणा हुनु सुखद रहेको सुनाउनु हुँदै सांसद गुरुङले बालमैत्री घोषणापछिको जिम्मेवारी कुशलता पूर्वक पूरा गरेमा मात्र बालअधिकार सुनिश्चित भई दिगो विकासका लक्ष्य प्राप्तिमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

बालमैत्री हुनेमा  कालिञ्चोक गाउँपालिका दोस्रो भएको छ । यसअघि नैे जिल्लाका नौ वटा स्थानीय तहमध्ये भीमेश्वर नगरपालिका पहिलो  बालमैत्री घोषित भएको थियो । पालिकालाई बालमैत्री घोषणा गर्न २०७६ सालदेखि बजेट विनियोजन गरी अभियान थालनी गरिएकोमा कोरोना लगायतका चुनौतीको सामना गर्दै २०७८ चैत्र महिनामा घोषणा सफल भएको हो । बालमैत्री स्थानीय शासनका सूचकहरूमा आधारित भई “बालमैत्री स्थानीय शासन कार्यान्वयनको लागि पञ्चवर्षीय रणनीतिक योजना, २०७८’ तयार गरिएको छ । बालमैत्री घोषणाले मात्र बाल अधिकारको सुनिश्चित नहुने हुँदा यसको निरन्तरता र दिगोपनको लागि योजना अपरिहार्य हुने भएपछि ९ करोड २८ लाख ९८ हजार बजेट विनियोजन सहित रणनीतिक योजना तयार पारिएको पालिकाका अध्यक्ष विनकुमार थामीले बताउनुभयो । गाउँपालिकाले बाल भेलाबाट माग भइ आएका योजना तथा कार्यक्रमहरूलाई समेत समेटी बालमैत्री स्थानीय शासनका सूचकहरूमा आधारित भई गाउँपालिकाले बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकासका लागि रणनीति महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । बालमैत्री घोषणा सभामा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, पालिका उपाध्यक्ष कालीका पाठक लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिका बन्यो दोस्रो बालमैत्री स्थानीय तह"

Leave a comment

Your email address will not be published.


*