दोलखामा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न बार प्रणाली लागू

ईश्वर बिश्वकर्मा
चरीकोट, चैत्र ८
दोलखामा राष्ट्रिय परिचयपत्र बनाउन विवरण दर्ता गर्ने सेवाग्राहीको अत्यधिक भीड भएपछि स्थानीय तहअनुसार बार प्रणाली लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालयको स्टेशनमा दर्ता क्षमता भन्दा बढी सेवाग्राहीको भीडले सेवा प्रवाहमा असहज भएकोले सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाइ नागरिकलाई स्थानीय तह अनुसार सेवा दिन चैत्र १० गते देखि बार प्रणाली लागू गरिने भएको हो । राष्ट्रिय परिचयपत्र दर्ताका लागि जिल्ला प्रशासन परिसरमा एउटा मात्र स्टेशन रहेको छ । उक्त स्टेशनबाट दैनिक बढीमा ५० वटा सम्मको विवरण दर्ता गराउन सकिने भएपनि दैनिक १०० जना भन्दा बढी सेवाग्राहीको भीड लाग्दा उहाँहरु आएकै दिन सबैलाई सेवा प्रवाह गर्न कठिनाई भएकोले बार प्रणाली अपनाइएको कार्यालयका प्रशासकीय अधिकृत औलाख बहादुर आलेले बताउनुभयो । विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचय पत्र दर्ता गराउनु अनिवार्य भएका कारण नागरिकहरुको चाप छ । त्यो चापलाई व्यवस्थापनको लागि अर्को व्यवस्था नभएसम्म बार प्रणाली लागू गरिएको हो । आइतबार जिरी नगरपालिका र बैतेश्वर गाउँपालिका, सोमबार मेलुङ र गौरीशंकर गाउँपालिका, मंगलबार विगु र तामाकोशी गाउँपालिका, बुधबार कालिञ्चोक र शैलुङ गाउँपालिका बिहीबार र शुक्रबार भीमेश्वर नगरपालिकाका नागरिकहरुलाई सेवा प्रवाह गरिने छ । सेवाग्राहीको सुविधालाई मध्यनजर गरी स्टेशन थप्नको लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा समेत अनुरोध गरिएको प्रशासकीय अधिकृत आलेले बताउनुभयो । सोको व्यवस्था नभईन्जेलसम्म बार प्रणाली लागू हुने उहाँले सुनाउनुभयो । राष्ट्रिय परिचय पत्र दर्ता बाहेक अन्य सेवाहरु नियमित रुपमा प्रवाह हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न बार प्रणाली लागू"

Leave a comment

Your email address will not be published.


*