नागरिक आरोग्य केन्द्र सञ्चालन

ईश्वर बिश्वकर्मा
चरीकोट, चैत्र ७
दोलखामा आर्युर्वेद स्वास्थ्य उपचार सेवाको पहुँच विस्तार गरिरहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गौरीशंकर गाउँपाालिकामा नागिरक आरोग्य केन्द्र सञ्चालन गरेको छ । आयुर्वेद उपचार पद्धतिमा नागरिकको चासो बढिरहेको बेला यसको पहुँच विस्तार गर्ने क्रममा स्थानीयलाई गाउँमै उपचार सेवासँगै स्वस्थ्य जीवनशैलीका उपाय दिन वडा नं. ५ भोर्लेमा आरोग्य केन्द्र सञ्चालनमा ल्याइएको हो । सोमबार गाउँपालिका अध्यक्ष स्वयमबहादुर खड्काले केन्द्रको उद्घाटन गर्नुभयो । आयुर्वेद उपचार सेवा लिन अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै केन्द्र सञ्चालनसँगै स्थानीय स्तरमै सेवा पाउने भएपछि उपचारका लागि समय र खर्चको बचत भएको भन्दै स्थानीय खुशी भएका छन् । आयुर्वेदिक औषधीले तुलनात्मक रुपमा ढिलो तर स्थायी रुपमा राहत दिने भएकोले पनि यो उपचार पद्धति निकै प्रभावकारी बन्दा पछिल्लो समय आयुर्वेद उपचारमा नागरिकको मोह बढेको छ । यसको प्रचारप्रसारलाई व्यापक बनाई विपन्न नागरिकलाई निशुल्क र सहज रुपमा यो सेवा उपलब्ध गराई स्वस्थ्य र निरोगी बनाउनु दायित्व हो । सोही अनुसार केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर पुनम नेपालले बताउनुभयो । संघीय सरकारको निरोगी नेपाल निर्माण अभियान कार्यक्रम अन्तर्गत आयुर्वेद औषधी उपचार, योगाभ्यास लगायतको सेवा दिने गरी सञ्चालनमा ल्याइएको सेवा केन्द्रमा तत्कालका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट एक जना कर्मचारी खटाइने उहाँले बताउनुभयो । उहाँका अनुसार वैद्य र एकजना सहयोगीको दरबन्दी भएपनि वैद्यको नियुक्त नभइसकेकोले जिल्लाबाट एक जना कर्मचारी खटाइएको हो ।

Shares

Be the first to comment on "नागरिक आरोग्य केन्द्र सञ्चालन"

Leave a comment

Your email address will not be published.


*