दाेलखामा कृषि गणना कार्यालय स्थापना

ईश्वर बिश्वकर्मा
चरीकोट, चैत्र ३
दोलखामा ७ औँ राष्ट्रिय कृषि गणनाको आन्तरिक तयारी थालिएको छ । गणना अन्तर्गत जिल्लामा सञ्चालित कृषि र पशुपन्छी सम्बन्धि विस्तृत तथ्याङ्क संकलन सहजताको लागि बुधबार जिल्ला कृषि गणना कार्यालय स्थापना गरिएको छ । कार्यालय र जनशक्ति व्यवस्थापनसँगै तयारीलाई तीव्र पारिएको हो । केन्द्रीय तथ्याङ्क विभागले जिल्ला समन्वय समितिको भवनमा तीन महिनाको लागि कृषि गणना कार्यालय स्थापना गरेको सहयाक कृषि गणना अधिकृत विप्र खड्काले जानकारी दिनुभयो । कार्यालयमा प्रमुख कृषि गणना अधिकृत, सहायक कृषि गणना अधिकृत, लेखा कर्मचारी, सहयोगी सहित सात जना कर्मचारीले काम गर्ने छन् । सहायक कृषि गणना अधिकृत खड्का अनुसार अहिले अनलाइन मार्फत सुपरिवेक्षक र गणकमा आवेदन दिइरहेका छन्, उनीहरुमध्ये करिब ९० जनालाई छनौट गरी कृषि गणनाका लागि आगामी बैशाख ६ गतेदेखि १९ गतेसम्म कृषकको घरआँगनमा परिचालन गरिने छ । उनीहरुले प्रश्नावालीको आधारमा अन्तर्वार्ता गरी कृषि सम्बन्धि सम्पूर्ण विवरण संकलन गर्ने छन् । नेपालमा वि.सं. २०१८ देखि हरेक दश–दश बर्षमा राष्ट्रिय कृषि गणना सञ्चालन हुदै आएको छ । यस गणना अन्तर्गत पारिवारिक, व्यावसायिक, तथा संस्थागत रुपमा सञ्चालन भइरहेका कृषि कार्यको तथ्याङ्क संकलन हुने छ ।

Shares

Be the first to comment on "दाेलखामा कृषि गणना कार्यालय स्थापना"

Leave a comment

Your email address will not be published.


*