ईश्वर विश्वकर्मा
चरीकोट, फागुन २४
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ५ स्थित सिरानमाटी टोलमा सामूहिक प्रयोजनका लागि दुई तल्ले भवन निर्माण गरिएको छ। ३६ लाख ९५ हजार ७ सय ४५ रूपैयाँ लागतमा निर्मित सामुदायिक भवन आइतबार भीमेश्वर नगरप्रमुख भरत केसीद्धारा उद्घाटन भई सञ्चालन अाएको छ । स्थानीयको आवश्यकता र मागलाई मध्यनजर गर्दै सबैलाई पायक पर्ने र सबैको अपनत्व हुने गरी निर्मित दुई तल्ले भवनमा सभाहलसहित ६ वटा कोठा रहेको छ । २०७६ फागुनदेखि उपभोक्ता समितिमार्फत निर्माण थालिएको भवन दुई वर्षपछि निर्माण सम्पन्न भएको वडाध्यक्ष रामचन्द्र बस्नेतले बताउनुभयो । भवन निर्माणमा भीमेश्वर नगरपालिकाको १५ लाख, वडा कार्यालयको ४ लाख ५० हजार, सिरानमाटी टोल सुधार समितिबाट ३ लाख २६ हजार ७ सय ४५ र बर्खेडाँडापारी सामुदायिक वन उपभोक्ता समूहबाट ८५ हजार रुपैयाँ सहयोग जुटेको थियो । लागत सहभागिता १३ लाख ३४ हजार रहेको छ । भवन निर्माण भएपछि माटीका आमा समूह, लघुवित्त, वन उपभोक्ता लगायतको समूहले अहिले खुल्ला चौर वा व्यक्तिको आँगनमा चर्को घाम, धुलो सामना गर्दै तथा पानीमा भिजेर बैठक बस्नुपर्दैन । सांस्कृतिक कार्यक्रम, विवाह, व्रतबन्ध, भोजभतेर जस्ता कार्यक्रम गर्न अन्त ठाउँ खोजिरहनुपर्दैन । सामूहिक रुपमा प्रयोग आउने सामग्री समुदायकै संरक्षणमा राख्न सहज भएको छ । सामुदायिक भवन निर्माण भएपछि बैठक, सामाजिक, सांस्कृतिक कार्यक्रम गर्न, उद्यमका तालिम सञ्चालन गर्न, विभिन्न सामग्री सुरक्षित राख्न तथा विपत्ति र सङ्कटको बेला समेत आश्रय लिन सजिलो हुने वडाध्यक्ष बस्नेतले बताउनुभयो । उहाँका अनुसार भवन निर्माणको लागि सिरानमाटी टोल सुधार समितिको पहल र सक्रियता प्रशंसायोग्य रहेको छ । सोही टोलमा निर्माण भएको राधाकृष्ण मन्दिरको पनि नगर प्रमुख केसीद्धारा उद्घाटन भएको छ । भीमेश्वर नगरपालिकाको दुई लाख, राधा सर्वेश्वर आध्यात्मिक समूहको १ लाख ३ सय ४० र सिरानमाटी टोल सुधार समितिको ९ हजार १ सय लागतमा मन्दिर निर्माण भएको वडाध्यक्ष बस्नेतले बताउनुभयो । सिरानमाटी टोल सुधार समितिले टोलको परिवर्तन र समृद्धिको उद्देश्य अनुरुपका विभिन्न सामाजिक गतिविधि सञ्चालन गरिरहेको छ । बाटो निर्माणदेखि विपत्मा परेकालाई राहत सहयोग सम्मका कार्यमा समितिको अग्रता र सक्रियता प्रभावकारी रहेको वडाध्यक्ष बस्नेतले सुनाउनुभयो ।
Be the first to comment on "सिरानमाटी सामुदायिक भवन निर्माण"