दीक्षण समाचार
चरीकोट, फागुन १७
दोलखाको सदरमुकाम चरीकोटमा अवस्थित पशुपति मन्दिरमा चतुर्मास भवन निर्माण हुने भएको छ । पहिलेको भवन २०७२ को विनासकारी भूकम्पले भत्काएको ६ वर्षपछि नगरपालिकाको आर्थिक सहयोगमा नयाँ चतुर्मास भवन निर्माण सुरु गरिन लागेको हो । सो चतुर्मास भवनको मंगलबार शिलान्यास गरिएको छ । महाशिवरात्रीको अवसरमा आयोजित एक कार्यक्रमका बीच भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले भवन शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास गर्दै धर्म संस्कृति संरक्षण र संवद्र्धन गर्नु सबैको दायित्व भएकोले सोही अनुसार हुनपर्ने बताउनुभयो । उहाँले संस्कृति संरक्षणको लागि भीमेश्वर नगरपालिकाले पनि विविध काम गरिरहेको र आगामी दिनमा पनि यसको निरन्तरता दिइने सुनाउनुभयो ।
भवन अभावमा पुराण लगाउने कार्य भएको थिएन । तर अब भवन निर्माण सुरु भएकोले सम्पन्नतापछि उक्त कार्य पुनः सुभारम्भ हुने लालीगुराँस युवा क्लब दोलखाका अध्यक्ष प्रबीन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ” पञ्चायत कालमा निर्माण भएको चतुर्मास भवनको तल्लो तलमा पुरान लाउने र माथिल्लो तल्लामा लालीगुराँस युवा क्लबको कार्यालय रहेको थियो । तर २०७२ सालको भुकम्पले क्षतिग्रस्त बन्यो । ६ वर्षसम्म पनि कुनै पनि निकायले भवन निर्माणको लागि चासो र सहयोग गरेन । तर अहिले भीमेश्वर नगरपालिकाको सहयोगमा भवन निर्माण सुभारम्भ भएको हो ।“ नगरपालिकाको ‘जनतासँग मेयर’ कार्यक्रमबाट ६ लाख रुपैयाँ बजेट विनियोजन भएपछि भवन शिलान्यास गरिएको हो । भवन निर्माणको पूर्णताको लागि थप सहयोग गर्ने नगर प्रमुख भरत केसीले प्रतिबद्धता गर्नुभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अहिले ६ लाख रुपैयाँ मात्र बजेट रहेकोले जग खन्ने र पीलर हाल्ने काम हुन सक्ने देखिन्छ । बाँकी कामको लागि विभिन्न संघसंस्था र सरकारबाट सहयोग लिइने उहाँले जानकारी दिनुभयो ।
शिवरात्रीको अवसरमा रक्तदान
लालीगुराँस युवा क्लबले शिवरात्रीको अवसरमा मंगलबार चरीकोटमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सुत्केरी, बिरामी तथा चोटपटक लागेका व्यक्तिलाई रगतको आपूर्ति सहजताको लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा क्लबका पदाधिकारीसहित महिला ५ र पुरुष २५ जना गरी ३० जनाले रक्तादान रक्तदान गरेका क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो । रतगको अभावमा कोहीकसैले छट्पटाउन र जोखिममा नपरुन् भनेर शिवरात्रीको शुभअवसरमा पूण्यको कार्यको लागि रक्तदान कार्यक्रम गरिएको उहाँले सुनाउनुभयो । पशुपति मन्दिरमा शिवरात्रीको अवसरमा दर्शनार्थीको सहभागितामा विषेश पुजाआजा गर्ने कार्य भइरहेको छ ।
Be the first to comment on "चरीकोटको पशुपति मन्दिरमा चतुर्मास भवन निर्माण हुँदै"