कालिञ्चोक गाउँपालिकामा ‘बालविवाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रम’ हुँदै

दीक्षण समाचार
चरिकोट, माघ २४
दोलखाको कालिञ्चोक गाउँपालिकाले “बाल विवाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रम“ सञ्चालन गर्ने भएको छ । गाउँपालिकामा चालु आव २०७८÷०७९ को लागि स्वीकृत कार्यक्रम अन्तर्गत बालविवाह अन्त्य गर्ने लक्ष्य अनुसार सो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । केही वर्ष अघि सम्म बाल विवाह अत्यधिक हुने गरेकोमा अहिले भने सचेतना र कानुनी ज्ञानको व्यापकताले यसको न्यूनीकरण भएको छ । तर अझै पनि कँहीकतै लुकिछिपी बालविवाह हुने गरेको पाइएकोले सो को अन्त्य गर्न आगामी फागुन ७ गतेदेखि बालविवाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रम सञ्चालन गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले बताउनुभयो । उहाँले भन्नुभयो ”बाल विवाहको अवस्था पहिलाको जस्तो भने छैन । अहिले पनि लुकिछिपी २० वर्ष भन्दा कम उमेरकाले विवाह गरेको पाइएको छ । तर १६ वर्ष भन्दा कम उमेरका लागि विवाह गरेको पाइएको छैन । उमेरै नपुगी विवाह गर्दा व्यक्तिमा शारीरिक, मानसिक समस्या हुने, हिंसा हुने, सम्बन्ध विच्छेद बढ्ने लगायतका समस्या बढ्छ । त्यसैले उमेर पुगेपछि विवाह गर्दा उपयुक्त हुने र बालविवाह गर्दा जेल जानुपर्ने कुरा कार्यक्रममार्फत समुदायमा थाह दिन दिइने छ ।“ प्रत्येक वडा तथा टोलमा बाल विवाह अन्त्यका लागि कार्यक्रम हुने छ । कार्यक्रममा उमेर पुगेर विवाह गर्दाको फाइदा र कम उमेरमा विवाह गर्दाको परिणाम तथा कानूनी प्रावधान सम्बन्धमा सचेतना अभिवृद्धि गरिने छ, भने बालविवाहको अवस्थाको विश्लेषण तथा तथ्याङ्क संकलन र भावी योजना बनाइने प्रमुख प्रशासकीय अधिकृत ओलीले बताउनुभयो । गत वर्ष बाल विवाह नियन्त्रण तथा न्यूनीकरणका लागि दिपज्योती समाज सुधार सङ्घसँगकाे सहकार्यमा सचेतनामूलक कार्यक्रम गरिएको थियो । त्यसको प्रभाव पनि राम्रै देखिएको छ । यो वर्षपनि त्यसको निरन्तरताको लागि तीन लाख बजेट प्राप्त भएको र त्यसको परिचालन गरी कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो । माघ १० गते सूचना प्रकाशित गरी कार्यक्रम सञ्चालन गर्न इच्छुक सामाजिक संस्थालाई प्रस्ताव आह्वान गरिएको छ । प्रस्ताव पेस गर्ने अन्तिम मिति २४ गते सम्ममा हो । प्राप्त प्रस्तावका आधारमा योग्यता पुगेका संस्था छनौट गरिने र सो संस्थालाई समुदायमा पुगेर कार्यक्रम सञ्चालन गर्न जिम्मेवारी दिइने प्रमुख प्रशासकीय अधिकृत ओलीले सुनाउनुभयो । बालमैत्री स्थानीय तहको सूचक पूरा गर्नका लागि बाल विवाह अन्त्यका लागि कार्यक्रम गर्न लागिएको हो ।  

 

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिकामा ‘बालविवाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रम’ हुँदै"

Leave a comment

Your email address will not be published.


*