ईश्वर विश्वकर्मा
चरिकोट, माघ २३
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. ४ लामीडाँडाको सुविधा सम्पन्न कार्यालय भवन निर्माण सुरु भएको छ । गएको बुधबार पालिका उपाध्यक्ष कालिका पाठकद्धारा भवन शिलान्यास भएसँगै आगामी नयाँ वर्षको बैशाख भित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम शुभारम्भ भएको हो । आफ्नै भवन नहुँदा कामकाजमा समस्या भइरहेको अवस्थामा ४० लाख खर्च गरी वडा कार्यालयको भवन निर्माण सम्पन्नता पश्चात सहज, चुस्त र प्रभावकारी सार्वजनिक सेवा प्रवाह हुनेमा उहाँको विश्वास छ । जनप्रतिनिधि तथा कर्मचारीले सेवा दिन र नागरिकलाई लिन कठिनाइ खेप्नुपर्ने अवस्थाको अन्त्य भवन निर्माणले गरिदिने उहाँले बताउनुभयो । उहाँका अनुसार उपभोक्ता समितिमार्फत निर्माण सुरु भएको भवनमा वडाध्यक्षको कार्यकक्ष सहित चार ओटा कोठा रहने छ । वडा सचिव रमादेवी ओलीका अनुसार वडा कार्यालय हिलेपानी संस्कृत माध्यामिक विद्यालयको भवनमा सञ्चालित छ । उहाँले भन्नुभयो, “२०७६ अघिदेखि नै विद्यालयको एक वटा कोठामा वडा कार्यालय सञ्चालनमा छ । विद्यालयले निःशुल्क वडा कार्यालयको लागि कोठा प्रयोग गर्न दिएको हो । कोठा एक ओटामात्र हुँदा सेवा प्रवाहमा निकै समस्या भएको छ। समस्या हुँदाहुँदै पनि अहिले सम्म सार्वजनिक सेवा प्रवाह नियमित भइरहेको छ ।” वडाको आफ्नै भवन बन्ने भएपछि आफूहरूलाई काम गर्न सहज हुने भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । “वडा कार्यालय भवन निर्माण हुने भएपछि असहजताको परिस्थिति दूर हुने भएको छ । धेरै वर्षको दुःखपछि सुखका दिन आउने भएको छ ।” उहाँले भन्नुभयो ।
बनाइएन वडा नं. २ को कार्यालय भवन
केन्द्र विवादका कारण कालिञ्चोक गाउँपालिका वडा नं. २ बाबरेको वडा कार्यालय भवन निर्माण हुन सकेको छैन । जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा पनि वडाको केन्द्र निर्धारणमा सहमति नजुट्दा वडा कार्यालय जीर्ण भवनमा सञ्चालित छ । गाउँपालिका उपाध्यक्ष पाठकका अनुसार यो वडाको कार्यालयको सेवा प्रवाह कुसावतीमा पूर्व गाविस भवनबाट भइरहेको छ । जुन भवन जीर्ण अवस्थामा छ । दुई गाउँ बीच केन्द्र तोक्ने विषयमा विवाद हुँदा पाँच वर्षको अवधिमा पनि वडा कार्यालयको नयाँ भवन निर्माण हुन नसकेको उपाध्यक्ष पाठकले बताउनुभयो । कुसावतीबासीको त्यहीँ वडा कार्यालय रहनुपर्ने अडान छ भने दारेपानी क्षेत्रका बासिन्दाको माग सोही स्थानमै वडा कार्यालय सार्नुपर्ने रहेको छ । यस विषयमा जनप्रतिनिधिले नै ठोस निर्णय लिन सकेनन् । दुई पक्षबीचको विवाद नमिल्दा वडाको केन्द्र निर्धारण गर्ने अन्योलतामै पाँच वर्ष गुर्जेको हो । त्यसो त गाउँपालिकाको केन्द्र विवाद समेत सुल्झिन नसक्दा गाउँपालिकाको भवन समेत निर्माण हुन सकेको छैन ।
Be the first to comment on "कालिञ्चोक गाउँपालिका वडा नं. ४ को कार्यालय भवन निर्माण हुँदै"