दोलखामा किवी उत्पादन घट्यो

दीक्षण समाचार
चरिकोट, माघ १८
दोलखामा गत वर्षको तुलनामा यो वर्ष ‘फलफूलको राजा’ किवी फलको उत्पादन घटेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार गत वर्ष जिल्लामा १ सय ४० हेक्टर क्षेत्रफलबाट ८ सय ६८ मेट्रिक टन किवी उत्पादन भएको थियो । तर यो वर्ष सोही क्षेत्रफलमा घटेर ८ सय ५० मेट्रिक टन उत्पादन भएको छ । इकाईमार्फत सञ्चालन भएको किवीफलमा व्यवासायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) को कार्य क्षेत्रमा उत्पादित किवीको परिमाण हो यो ।
हावाहुरी, असिना र निरन्तरको वर्षाले किवीको फूल झारिदिँदा, बगैँचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा तथा उपयुक्त तवरबाट काँटछाँट नहुँदा किवी उत्पादनमा गिरावट आएको इकाईका प्रमुख, वरिष्ठ कृषि अधिकृत यामकुमार श्रेष्ठले बताउनुभयो । उत्पादित किवी २५ प्रतिशत जिल्लाका चरिकोट, जिरी, मैनापोखरी लगायतका बजारमा बिक्री भएको छ, भने बाँकी ठूलो परिमाणमा काठमाडौँमा निर्यात भएको छ । किवी उत्पादन क्षेत्र सडक सञ्जालले छोएको कारण किवी बगैँचाबाटै बिक्री भएको छ, भने किसान आफैँले बजारसम्म लगेर पनि बिक्री गरेका छन् । कतिपयले सामाजिक सञ्जालमा प्रचारप्रसार गरी किवी बेचेर मनग्य आम्दानी गरेका प्रमुख श्रेष्ठले सुनाउनुभयो । किवी बिक्रीबाट जिल्लामा करिब ८ करोड बढी भित्रिएको उहाँको अनुमान छ ।
इकाईले सहयोग उपलब्ध गराउन थालेपछि किवी खेती गर्ने किसान र किवी खेतीको क्षेत्रफल बढ्दा उत्पादनमा पनि बृद्धि हुँदै गएको छ । जसको कारण सुरुआती वर्षहरुमा महँगोमा बिक्री हुने गरेको किवी अहिले तुलनात्मक रुपमा सस्तोमा बिक्री हुन थालेको छ । यद्यपि किसानले घाटा भने व्योहोर्न नपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सुरुसुरुमा किलोकै पाँच सय देखि हजार रुपैयाँसम्ममा पनि बिक्री हुन्थ्यो । किनकी त्यो बेला किवी उत्पादन कम हुन्थ्यो । तर अहिले सुन्तलाको भाउमा किवी पाउन सकिन्छ । जसले गर्दा सबैले सहजै किवी किनेर खान सक्ने अवस्था आएको छ ।” जिल्लामा हेवार्ड, एलिसन जातका किवी बढीमात्रामा उत्पादन, बिक्री हुने गरेको उहाँले बताउनुभयो । जिल्लाको भीमेश्वर, जिरी नगरपालिका, शैलुङ, विगु, गौरीशंकर गाउँपालिकाका विभिन्न वडामा किवी जोनको कार्य क्षेत्र रहेको छ ।

Shares

Be the first to comment on "दोलखामा किवी उत्पादन घट्यो"

Leave a comment

Your email address will not be published.


*