शैलुङ गाउँपालिकामा ल्होछार मनाउन तीन दिन सार्वजनिक बिदा

दीक्षण समाचार
चरिकोट, माघ १८
दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
तामाङ जातिको बाहुल्यता रहेको पालिकामा सो जातिको धार्मिक एवं सांस्कृतिक पर्व सोनाम ल्होछार हर्षोल्लासका साथ मनाउन १९ देखि २१ गतेसम्म सार्वजनिक बिदा दिइएको हो । तामाङ जातिको विषेश पर्व सोनाम ल्होछार यो बर्ष माघ १९ गते मनाइदैछ । तामाङ समुदायले ल्होछारलाई सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा मनाउने गर्दछन् । ल्होछार भव्य रुपमा मनाउन गाउँपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरू र विद्यालयहरुमा बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष दाहालले जानकारी दिनुभयो ।
गएका बर्षहरु पनि पालिकाले सोनाम ल्होछारलाई मनाउन तीन दिन बिदा दिएको थियो । सोही परम्परालाई निरन्तरता दिदैं यो बर्ष पनि बिदा दिएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो–पालिकामा तामाङ समुदायको बाहुल्यता छ । सो समुदायको सम्मान र संस्कृतिको जोगाउन संविधान प्रदत्त अधिकारको उपभोग गरी बिदा दिएको हो ।
तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ‘ल्होछार’को अर्थ नयाँ वर्ष भन्ने हुन्छ । चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात् नयाँ वर्ष मान्ने गरिन्छ । ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकामा ल्होछार मनाउन तीन दिन सार्वजनिक बिदा"

Leave a comment

Your email address will not be published.


*