दीक्षण समाचार
चरिकोट, माघ ११
दोलखामा जनप्रतिनिधि र कर्मचारी नै कोरोना संक्रमित भएपछि पालिकाको सेवा प्रभावित हुन थालेको छ । जिल्लाको कालिञ्चोक गाउँपालिकाबाट प्रवाह हुने सेवा पाँच दिनको लागि बन्द गरिएको छ । प्रमुख प्रशासकीय अधिृकत सहित पालिका कार्यालयमा कार्यरत चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारदेखि कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको हो । गाउँपालिका अध्यक्ष विनकुमार थामीले पालिकामा कोरोना संक्रमण बढ्दै गएको र कर्मचारी समेत संक्रमित भएपछि बाध्य भएर अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्नुपरेको जानकारी दिनुभयो । केही दिन अघि १८ जना कर्मचारीको नमूना स्वाब एन्टिजिन प्रविधिबाट परीक्षण गरिएकोमा प्रमुख प्रशासकीय अधिकृत सहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उहाँहरु आइसोलेसनमा बस्नुभएको छ । पालिकामा कोरोना भाइरसको तेस्रो लहर तीव्र रुपमा फैलिरहेको छ । जसका कारण सर्वसाधरणदेखि सरकारी कार्यालयमा कार्यरत कर्मचारी समेत कोरोनाको चपेटामा पर्न थालेका छन् । स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार गाउँपालिकामा ११ पुरुष र ३ महिला गरी १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । कर्मचारी कोरोना संक्रमित भएपछि माघ ६ गतेदेखि १२ गतेसम्मको लागि तामाकोशी गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको छ । त्यसैगरी शैलुङ गाउँपालिकाले माघ ७ गतेदेखि १३ गतेसम्मको लागि अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरेको छ ।
Be the first to comment on "कालिञ्चोक गाउँपालिकाको कार्यालयको सेवा बन्द"