दीक्षण समाचार
चरिकोट, माघ ४
दोलखाको शैलुङ गाउँपालिका–१ दूधपोखरी, ठेकला घ्यूका किसान पदमबहादुर घिसिङको बारीको एउटा मुला साेमबार आफन्त तथा छिमेकीले उखेल्नुभयो । उखेलिएको मुला देखेर उखेल्नेहरु नै अचम्ममा पर्नुभयो । किनकी सामान्य मुला जस्तो त्यो मुला थिएन, त्यो त बडेमानको थियो । पदमबहादुरको लागि भने त्यो नौलो कुरा थिएन । केही दिन अघि पनि उहाँले यस्तै बडेमानको मुला उखेलेर बिक्री नभएपछि पशुचौपायाको लागि आहारा बनाउनुभएको थियो । तर यो पटक उखेलिएको मुलाको फोटो खिचेर उहाँको छोराले साेमबार फेसबुकमा राख्नुभयो । अहिले सो मुलाको फोटो फेसबुकमा भाइरल भएको छ। उहाँले ठुलो मुला उत्पादन गरेको कुरा थाहा पाएपछि गाउँपालिकाको पनि ध्यान तान्यो । गाउँपालिकाको आग्रहपछि मँगलबार उहाँ र उहाँको आफन्तसहित दुई जनाले एक–एक वटा मुला काँधमा बोकेर काटाकुटी स्थित गाउँपालिकाको कार्यालयमा पु¥याउनुभयो । गाउँपालिकाको कार्यालयमा दुई वटै मुला जोखियो । एउटा मुलाको तौल त १४ किलोको रहेछ । त्यसपछि मुला फलाउनुहुने पदमबहादुरलाई गाउँपालिकाले सात हजार रुपैयाँ र खानेपानीको पाइप प्रदान गरी सम्मान गरेको छ । “उहाँले ठुलो मुला उत्पादन गर्नुभएको रहेछ । हाम्रो आग्रहपछि गाउँपालिकाकाे कार्यालयमै मुला ल्याउनुभयो । जोख्दा १४ किलोको रहेछ । हामी चकित भयौँ । उहाँलाई पालिकाको तर्फबाट सम्मान पनि गरिएको छ ।” गाउँपालिकाका अध्यक्ष भरत प्रसाद दुलालले सुनाउनुभयो ।
गाउँपालिकाबाट सम्मानित भएपछि खुशी लागेको पदम बहादुरले सुनाउनुभयो । उहाँले भन्नुभयो “ पहिले चरिकोटबाट मुलाको बिऊ ल्याएका थियौँ । त्यो बिऊ असोज महिनामा बारीमा छरेका थियौँ । अहिले ठूल्ठूला मुला फलेको छ । अझै ४० वटा जति यस्तै ठुला मुला बाँकी नै छ । आज गाउँपालिकाले ठुला मुला फलाएपछि सम्मान ग¥यो, खुशी लागेको छ ” उत्पादित मुला बिक्री नभएको कारण बस्तुलाई खान दिनुपरेको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो ” यहाँ मुला त धेरै मात्रामा उत्पादन हुन्छ । तर के गर्नु गाडी चल्ने बाटो नभएकोले बिक्रीका लागि बजार लैजान सकिदैन। “सरकारले पर्याप्त सिँचाई सुविधा, मलको व्यवस्थापन र बजारको उचित प्रबन्धका लागि मोटर गुड्ने बाटो बनाइदिए किसानलाई राहत सहयोग मिल्ने उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो “किसानको गुनासो सुनिदिएर काम गरिदिए सरकारको ठूलो गुण हुन्थ्यो । मेरो अनुरोध यो छ कि सरकारले किसानको समस्या पहिचान गरेर समाधानका लागि काम गरोस् ।” घिसिङले उत्पादन गरी ल्याउनुभएको दुई वटै ठुला मुला प्रदर्शनीका लागि पालिका कार्यालयमै राखिएको छ ।
Be the first to comment on "शैलुङ गाउँपालिकामा फल्यो १४ किलोको मुला"