कालिञ्चोक क्षेत्रमा पुनः हिमपात

दीक्षण समाचार
चरिकोट, पुस २९
दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा पुनः हिमपात भएको छ । अघिल्लो साता हिमपात भएको कालिञ्चोक क्षेत्रमा पुरा हिउँ बिलाउन नपाउँदै बुधबार राती फेरी हिमपात भएको हो । हिउँ परेपछि तीन हजार ८ सय ४३ मिटरको उचाइमा अवस्थित कालिञ्चोक क्षेत्र अझ सुन्दर देखिएको कालिञ्चोक केबलकारमा कार्यरत सुशान्त ढुङ्गानाले जानकारी दिनुभयो । पुस महिनामा पटकपटकको हिमपातका कारण पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि कालिञ्चोकका पर्यटन व्यवसाय फस्टाएको छ । हिउँ खेल्न चाहनेहरूका लागि कालिञ्चोक उपयुक्त गन्तव्य बनेको हो । त्यसैगरी नेपालमा लोकप्रिय बन्दै गरेको साहसिक खेल स्कीका लागि पनि यो क्षेत्र उपयुक्त ठहरिएपछि स्की खेलाडीहरूको समेत यहाँ चहलपहल बढ्न थालेको छ । हिमपात चिसो बढेको छ । तर यसअघिको हिउँमा रम्न नपाएका पर्यटकहरूलाई यो पटक अर्काे मौका मिलेको छ । आकाश खुलेको बेला विभिन्न हिमशृङ्खला प्रष्ट देख्न सकिने कालिञ्चोकमा गाडीको सुविधा, केबलकारको सुविधा र खानबस्नको व्यवस्था भएपछि आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकको समेत यहाँको सुन्दरतामा रमाउन भीड लाग्छ । अन्य देशका भन्दा छिमेकी देश भारतबाट आउने पर्यटकको संख्या उच्च रहेको छ । यद्यपि कालिञ्चोक क्षेत्रमा व्यवसायीले पर्यटकबाट सेवासुविधा बापत चर्को शुल्क असुल्न थालेपछि पर्यटकहरू निराश हुने गरेका छन् । कालिञ्चोकमा पुस, माघ र फागुन महिनामा पटकपटक हिउँ पर्ने गरेको छ । अरु बेला कालिञ्चोक नपुग्नेहरु हिउँ परेपछि एकपटक पुग्ने गरेका छन् । 

तस्बिरः सुशान्त ढुङ्गाना

Shares

Be the first to comment on " कालिञ्चोक क्षेत्रमा पुनः हिमपात"

Leave a comment

Your email address will not be published.


*