गाउँगाउँमा चम्किँदै टुकी संघ

दीक्षण समाचार
चरिकोट, पुष २७
ग्रामीण विकास टुकी संघ दोलखाको बिसौँ साधारण सभा एवं आठौं अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ । समारोहको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले पानसमा बत्ती बालि उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले टुकी संघले समाजमा गरेको योगदानको चर्चा तथा प्रशंसा गर्नुहुँदै जिल्लाका अन्य संघसंस्था भन्दा टुकी संघ फरक र प्रभावकारी कार्यमा सक्रिय रहेको बताउनुभयो । समाज समृद्धिको लागि सङ्घसंस्थाले गरेको कार्य तारिफयोग्य रहेको उहाँले सुनाउनुभयो । सङ्घसंस्थालाई पारदर्शी र प्रभावकारी तवरले काम गर्न थप प्रेरणा मिलोस् भनी शुभकामना दिनुभयो ।
त्यसैगरी भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत केसीले अरुले केही गरेन भनेर चुप लागेर वा गाली गरेर बस्नु भन्दा पनि आफैँ सक्रिय भएर समृद्धिको अभियानमा लाग्नुपर्ने सुनाउनुभयो ।  उहाँले भन्नुभयो “अँध्यारालाई सराप्न छाडौँ, एउटा टुकी बाल्न थालौँ अर्थात् समस्याको सामना गर्दै समृद्धिको अभियानमा सहभागी बनौँ ।” 

समारोहमा संघका महासचिव मकरध्वज पाख्रिनले २०७७÷०७८ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । टुकी सङ्घबाट विभिन्न सङ्घसंस्थासँगको साझेदारीमा सञ्चालित आयोजना तथा परियाेजनाबाट आर्थिक रुपमा विपन्नता भएका, किसान, दलित, महिला, बालबालिकाहरू लाभान्वित भएको उहाँले दाबी गर्नुभयो । त्यसैगरी कोषाध्यक्ष बद्रीबहादुर कटुवालले गत २०७७÷०७८ को आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रस्तुत प्रतिवेदन अनुसार युएनडिपी र फ्यानसिपबाट प्राप्त, बैंकको ब्याज, बोलपत्र आह्वान बिक्री, माटो परीक्षण प्रयोगशाला निर्माण अनुदान बागमती प्रदेश सरकार र भीमेश्वर नगरपालिका कागजात लिलाम बिक्री, हल भाडा र अन्य शीर्षकबाट ३० लाख १६ हजार ६ सय ८९ रुपैयाँ आम्दानी भएको र कार्यसमिति बैठक, भ्रमण, लेखापरीक्षण खर्च, कार्यालय भवनको बिमा, दिंवगत टुकीहरुको समवेदना सन्देश, माटो परीक्षण प्रयोगशाला निर्माण लगायतका शीर्षकमा ३६ लाख ८० हजार ९ सय १० रुपैयाँ खर्च भएको छ । समारोहमा दोलखा दुग्ध उद्योग लिमिटेडका अध्यक्ष लालकुमार केसी, हुराडेक नेपालका अध्यक्ष उद्धबप्रसाद पोखरेल, नेपाली कांग्रेस दोलखाका सचिव रञ्जित पाठक, एमाले दाेलखाका सचिव हिरा थोकर, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । उद्घाटन समारोह सक्किएसगैँ टुकी संघको नयाँ नेतृत्व चयनको लागि बन्द सत्र सुरु भएको छ । नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने गरी छलफल जारी छ । 

 २०४८ सालमा स्थापना भएको टुकी संघले ग्रामीण जीवनस्तरमा सुधार ल्याउन विभिन्न क्षेत्रमा काम गरिरहेको छ । टुकी संघ सघन अगुवा कृषक ग्रामीण विकास स्वयंसेवक टुकीहरुको साझा संस्था हो । यसले विशेष गरी कृषि, वन, शिक्षा, पोषण, स्वास्थ्य तथा जलवायु परिवर्तन तथा अनुकुल क्षेत्रमा स्थानीय स्रोत र साधनको दिगो परिचालन, व्यवस्थापन, विकास साझेदार संस्थाहरूसंग समन्वय र सहकार्य, संस्थागत विकासका साथै सामुदायिक संगठन विस्तार बाट योगदान दिने कार्यलाई निरन्तरता दिदैँ आएको छ । आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी रुपमा निरन्तर उद्देश्य अनुरूप क्रियाशील हुने संस्थाका अध्यक्ष रोच कुमारी चौलागाईँले बताउनुभयो । अध्यक्ष चौलागाईँका अनुसार जिल्लाको ९ वटै स्थानीय तहका विभिन्न स्थानमा रहेका आफ्ना करिब ४ सय भन्दा सदस्यहरूको सक्रियतामा काम गरिरहेको छ । 

Shares

Be the first to comment on " गाउँगाउँमा चम्किँदै टुकी संघ"

Leave a comment

Your email address will not be published.


*