दिगो विकासको लागि शिक्षा सम्बन्धी क्रियाकलापको प्रवर्द्धन कार्यक्रम

दीक्षण समाचार
चरिकोट, पुस २२
दोलखाको सदरमुकाम चरिकोटमा दिगो विकासको लागि शिक्षा सम्बन्धी क्रियाकलापको प्रवर्द्धन विषयक दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोग तथा सचिवालयको आयोजनामा कार्यक्रम सुरु भएको हो । कार्यक्रम उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले दिगो विकास लक्ष्यको चौथो लक्ष्य अन्तर्गत शिक्षामा समानता तथा समावेशिताको लक्ष्य हासिल गर्न तीन तहका सरकार सबै नागरिक अग्रसर हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्लाका शिक्षक, विद्यार्थी र सञ्चारकर्मी सहित विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरूको सहभागिता रहेको छ । कार्यक्रममा भीमेश्वर नगरपालिका शिक्षा शाखाका सुन्दर खड्काले कार्यपत्र प्रस्तुत गर्नुहुँदै व्यवहार, ज्ञानविज्ञान, धर्म, ब्राह्मणत्व सम्बन्धी ज्ञानको हासिल गर्न, सिर्जनशीलता, जवाफदेहिता कार्यान्वयन गर्न, मूल्यमान्यतामा आधारित व्यक्तित्व विकास गर्न, आत्मज्ञान, परिचय, संस्कृति आर्जन, मानव गुणको पूर्णता, सामाजिक  सहिष्णुता, सहसम्बन्ध, सहअस्तित्व कायमका लागि मानव जीवनमा शिक्षा अपरिहार्य रहेको उहाँले बताउनुभयो । उहाँले आजको आवश्यकता समतामूलक, गुणस्तर, व्यवहारिक र जीवनोपयोगी शिक्षा रहेकोले यसको परिपूर्तिका लागि सबैले भूमिका निर्वाह गरी दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा ठूलो उपलब्धि प्राप्त तथा प्रगति गर्न सकिने बताउनुभयो । त्यसैगरी कुटीडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकरलाल श्रेष्ठले कार्यपत्र प्रस्तुतिका क्रममा दिगो विकासको अवधारणा प्रष्ट पार्दै एक व्यक्तिले दिगो विकासको अवधारणा अनुसार जीवनयापन गर्न सकेमा ऊ सफल हुने बताउनुभयो । उहाँले स्थानीय तहमा शिक्षा योजना निर्माण, अनुगमन र रिर्पोटिङ क्षमता विकास, शिक्षकको क्षमता विकास तथा गुणस्तरमा प्रतिबद्धता र उत्तरदायित्व, प्राविधिक तथा व्यावसायिक शिक्षाको व्यवस्था, औपचारिक, अनौपचारिक अनियमित र जीवनपर्यन्त शिक्षा पद्धतिको विकास गर्न सकेमा शिक्षामा दिगो विकास हुने उहाँले बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा अपेक्षित प्रगति प्राप्तिका लागि सबै जनाले दायित्वबोध सहित अग्रसर हुनपर्ने सुनाउनुभयो ।

Shares

Be the first to comment on "दिगो विकासको लागि शिक्षा सम्बन्धी क्रियाकलापको प्रवर्द्धन कार्यक्रम"

Leave a comment

Your email address will not be published.


*