चरिकोटमा लागुपदार्थ दुव्र्यसन र साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम सुरु

दीक्षण समाचार
चरिकोट, पुस १५
दोलखाको सदरमुकाम चरिकोटमा लागुपदार्थ दुर्व्यसन र साइबर क्राइम सम्बन्धी तीन दिने सचेतना कार्यक्रम सुरु भएको छ । चरिकोट मिडिया फाउन्डेसनको समन्वयमा प्रदेश युवा परिषद् बागमती प्रदेश हेटौँडाको आयोजनामा बिहीबारदेखि सो कार्यक्रम सुरु भएको हो ।
पूर्व सामाजिक विकास मन्त्री एवं बागमती प्रदेश सांसद सरस्वती बस्नेतले ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो । सामाजिक, आर्थिक, शैक्षिक, राजनीति लगायत सबै क्षेत्रमा सबै युवाको भूमिका उल्लेखनीय हुनुपर्नेमा त्यसो नभई लागुपदार्थ दुर्व्यसन र साइबर क्राइममा फसेर व्यक्तिगत जीवनका साथै परिवार समाज तथा देशलाई नै समस्याग्रस्त बनाइरहेको बताउनुभयो । यस्तो अवस्था न्यूनीकरणको लागि सञ्चारकर्मी, अभिभावक, शिक्षक लगायतले आ–आफ्नो भूमिका सशक्त बनाउनुपर्ने जोड दिनुभयो । उहाँले कार्यक्रममा पाएका जानकारी आफ्ना साथीसँगीलाई समेत सुनाएर सचेत गराई सकारात्मक समाज निर्माणमा सहयोग गर्न सहभागीहरूलाई अनुरोध गर्नुभयो । कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडाले मदिरा नियन्त्रणका लागि विभिन्न सामाजिक समूह सक्रिय रहेको तर युवा शक्तिलाई खोक्रो बनारहेको लागुपदार्थ दुर्व्यसनलाई न्यूनीकरण गर्न स्थानीय सरकार, नागरिक समाज, विभिन्न समूह, सङ्घसंस्थाले कुनैपनि काम गर्न नसकेको आरोप लगाउनुभयो । मदिरा नियन्त्रणसँगै लागुपदार्थ दुर्व्यसन र साइबर क्राइम नियन्त्रणका लागि समाजमा सचेतना कार्यक्रमहरू निरन्तर र व्यापक गरिनुपर्ने उहाँले बताउनुभयो । कानूनले मात्र साइबर क्राइम र लागुपदार्थ दुर्व्यसनलाई लगाम लगाउन नसक्ने भएकोले गाउँगाउँमा सचेतना कार्यक्रम गरी सबैलाई सचेत गराउनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा परिषद्का सदस्य श्यामसुन्दर शिवाकोटीले प्रदेशको विभिन्न जिल्लामा सचेतनामूलक कार्यक्रम भइरहेको र सोही क्रममा दोलखामा पनि कार्यक्रम गरिएको बताउनुभयो । समाजिक समस्याहरू न्यूनीकरण गरी समृद्ध समाज निर्माणमा सबैको सहभागिता उल्लेखनीय रहने अपेक्षा सहित युवा जागरणको लागि कार्यक्रम गरिएको उहाँले सुनाउनुभयो । उहाँले आगामी समयमा विभिन्न कार्यक्रम दोलखामा आयोजना गर्न लागिएको बताउनुहुँदै महिला, युवालाई लक्षित गरी सीपमूलक तालिमको साथै बालबालिका तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने जस्ता कार्यक्रम गरिने जानकारी दिनुभयो ।  कार्यक्रममा कार्यपत्र प्रस्तुत गनुहुँदै जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले लागुपदार्थ दुर्व्यसन परिचय, यसको सेवनबाट हुने तत्कालीन र दीर्घकालीन असर, लागूपदार्थ दुर्व्यसनका चरणहरू, यसबाट जोगिने उपाय यसको सेवन, उत्पादन, ओसारपसारको कार्य गर्दा पाइने कानुनी कारबाही लगायत बारेमा जानकारी दिनुभएको थियो । त्यसैगरी साइबर क्राइम बच्ने उपाय लगायतका विषयमा जानकारी कार्यपत्र मार्फत जानकारी दिनुभएको थियो । उहाँले युवालाई लागुपदार्थ दुर्व्यसन तथा साइबर क्राइमबाट जोगाउन अभिभावकले विशेष ध्यान दिन जरुरत रहेको बताउनुभयो । पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडाले पनि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा चरिकोट मिडिया फाउन्डेसनका अध्यक्ष जीवन लामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित खड्काले मन्तव्य व्यक्त गनुभएको थियो ।

Shares

Be the first to comment on "चरिकोटमा लागुपदार्थ दुव्र्यसन र साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम सुरु"

Leave a comment

Your email address will not be published.


*