दीक्षण समाचार/चरिकोट, –रक्तदान कार्यक्रमबाट संकलित सबै रगत प्रयोग गर्न मिल्दैन । लो भोलम भएको, बोसोको मात्रा बढी भएको, हेमोग्लोबिन मात्रा कम भएको तथा सरुवा रोग देखिएको रगत प्रयोग गर्नु हुँदैन । दोलखामा गत वर्षको मंसिरदेखि यो वर्षको हालसम्म विभिन्न संघसंस्थाको आयोजनामा २५ पटक सामुहिक रक्तदान कार्यक्रम भयो । कार्यक्रमबाट ५ सय ८६ पिन्ट रगत संकलन भएको थियो । तर १ सय ८ पिन्ट रगत प्रयोग गर्न नमिलेपछि नष्ट गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले बताउनुभयो । म्याद नाघेको, लो भोलम भएको, बोसोको मात्रा बढी भएको, हेमोग्लोबिन मात्रा कम भएको तथा सरुवा रोग देखिएकोले प्रयोग गर्न नमिलेपछि नष्ट गरिएको हो ।
गत वर्ष नेपाली कांग्रेस दोलखा, दोलखा दुग्ध उद्योग, कालिञ्चोक मावि, नेपाल शिक्षक महासंघ, खोरथली सामुदायिक वन उपभोक्ता समुह, गौरीशंकर बहुमुखी क्याम्पास, क्षयरोग निवारण संस्थासहित २५ भन्दा बढी कार्यालय तथा संघसंस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा रगत संकलन भएको थियो । रक्त सञ्चार केन्द्र चरिकोटमा नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य व्यक्ति र बिरामीहरुका आफन्तहरु स्वयं उपस्थित भई रक्तदान गरेका थिए । संकलित रगतमध्ये भीमेश्वर नगरपालिकाका बिरामीमा ६१, जिरी नगरपालिकाका बिरामीमा ५ पिन्ट, कालिञ्चोक गाउँपालिकाका बिरामीमा १६, विगु गाउँपालिका बिरामीमा २२, गौरीशंकर गाउँपालिकाको बिरामीमा १६, बैतेश्वर गाउँपालिका, मेलुङ गाउँपालिका ९ , शैलुङ गाउँपालिकाका बिरामीका लागि ४ पिन्ट रगत खपत भएको छ । रामेछाप र सोलुखुम्बु जिल्लाका नागरिकलाई ६ पिन्ट रगत दिइएको छ । ७० वर्ष उमेर पार गरेका जेष्ठ नागरिक तथा आर्थिक अवस्था अति कमजोर भएका बिरामीहरुका लागि निशुल्क रगत उपलब्ध गराइदिन पालिकाहरुबाट सिफारिस भएका १९ जना बिरामीका लागि निशुल्क रगत उपलब्ध गराइएको सभापति पोखरेलले बताउनुभयो । अन्य बिरामीहरुको लागि भने पाँच सय तिरेपछि रगत उपलब्ध गराउने गरिएको हो ।
जिल्ला भित्रै खपत भएको रगत एक सय ७८ पिन्ट रहेको छ । म्याद समाप्त हुनु भन्दा केही दिन अगाडि रगत खेर नजाओस् भनी नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको रक्तसञ्चार केन्द्रमा ३ सय पिन्ट रगत पठाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले २०६५ देखि स्वास्थ्य कार्यालयको भवनमा रक्तसञ्चार केन्द्रको सुरु गरेको थियो । रक्त सञ्चार सेवा केन्द्रले जिल्लाभित्र सञ्चालित अस्पत्तालहरुमा उपचाररत विरामीका लागि आवश्यक पर्ने रगत सहज र सुलभ तरिकाले उपलब्ध गराउने कार्य गर्दै आएको छ ।
क्यालेन्डर निर्माण
रक्तसञ्चार केन्द्रको वार्षिक प्रगति समीक्षा तथा रक्तदान कार्यक्रमको कार्यतालिका तयारी एवं कोभिङ–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको समीक्षा बैठक सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाले जिल्लाको सदरमुकाम चरिकोटमा आयोजना गरेको बैठकमा रक्तदान कार्यक्रम आयोजनाको लागि कार्यतालिका निर्माण र कार्यान्वयनको विषयमा छलफल गर्नुका साथै रेडक्रसले सम्पन्न गरेको कार्यक्रम र भावी योजनाको विषयमा छलफल गरिएको थियो । बैठकमा भावी कार्यक्रमलाई प्रभावकारी बनाइने, रक्तसञ्चार केन्द्रलाई व्यवस्थित र लाभग्राहीमैत्री बनाइने प्रतिबद्धता रेडक्रसले गरेको छ ।
Be the first to comment on "दोलखामा संकलित रगत नष्ट किन गरियो ?"