दोलखाबाट ४ महिनामा ३३ जना बालबालिका तथा महिला हराए

बबिना नेपाली /चरिकोट, –दोलखामा ४ महिनाको अवधिमा ३३ जना महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रको अनुसार २०७८÷०८९ को साउनदेखि कार्तिकसम्मको अवधिमा सो संख्याका महिला तथा बालबालिका हराएका हुन् । हराएका मध्ये २१ महिला र ११ जना बालबालिका रहेका छन् । आफन्त हराएपछि खोजबिनको लागि अभिभावकले प्रहरीलाई निवेदन दिएको र खोजबिन जारी रहेको प्रहरी सहायक निरीक्षक धर्मेन्द्र प्रसाद क्रुमीले बताउनुभयो । खोजबिनको क्रममा हराएकामध्ये पाँच जना फेला पारी अभिभावकलाई जिम्मा लगाइएको उहाँले बताउनुभयो ।
बालबालिका हराएपछि आफन्तले आतिएर प्रहरी कहाँ आएर खोजबिनको लागि निवेदन दिन्छन् । प्रहरीले हुलियाको आधारमा हराएकाहरुको खाजबिन गर्ने गरेको छ । प्रहरीलाई अभिभावकले दिएको जानकारी अनुसार घरायसी समस्या, आर्थिक प्रलोभन, मायापिरती, सामाजिक सञ्जालको दुरुपयोग, साथीसंगत, मापसेले बिग्रेको कारण महिला तथा बालबालिका हराएका हुन् ।
प्रहरीको तथ्याङ्कमा १२ जना घरायसी समस्या, नौ जना माया पिरती, छ जना साथीसंगत, दुई जना सामाजिक सञ्जाल, एक जना आर्थिक प्रलोभन र दुई जना मादक पदार्थ कारण हराएको उल्लेख छ । अभिभावकले आफन्त तथा सन्तान हराउँदा उजुरी दिएपछि प्रहरीले व्यापक खोजबिन गर्छ । तर अभिभावको सक्रियतामा भेटेपछि प्रहरीलाई जानकारी दिदैनन् । यसले गर्दा पनि समस्या हुने गरेको प्रहरी सहायक निरीक्षक क्रुमीले बताउनुभयो । महिला तथा बालबालिका हराउने क्रम नरोकिएकोले अब अभिभावक तथा जिम्मेवार निकायले गहिरिएर सोच्नुपर्ने बेला आएको छ । महिला तथा बालबालिका हराउनबाट जोगाउन अभिभावकको पहिलो र महत्वपूर्ण भूमिका हुन्छ ।

Shares

Be the first to comment on "दोलखाबाट ४ महिनामा ३३ जना बालबालिका तथा महिला हराए"

Leave a comment

Your email address will not be published.


*