कोरोनाको कारण दुई वर्षसम्म सुनसान बनेको जिल्लाको पर्यटकीय क्षेत्रहरुमा कोरोना मत्थर भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । कोरोनाले थला परेको पर्यटन गतिविधि तंग्रिदै गएर चलायमान हुन थालेपछि पर्यटन व्यावसायीहरुको मुहार खुशीले चम्किलो बन्न थालेको छ । उनीहरु सधैँ यसरी खुशी हुन चाहन्छन्, पर्यटकीय स्थलमा घुम्न चाहनेहरु पनि सदैव निष्फिक्री चाहना पूरा गर्न चाहन्छन् ।
पर्यटन व्यावसायीहरु पर्यटकले भरिभराउ हुने व्यावसाय कोरोनाले ठप्प हुँदा बेरोजगार भएको भन्दै चिन्तित थिए । तर अहिले कोरोना घटेर पर्यटकको आगमन बढ्न थालेसगैँ उनीहरुको चिन्ता हराएर उत्साह र खुशी बढ्दै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न सफल बहुचर्चित धार्मिक पर्यटकीय स्थलहरु कालिञ्चोक मन्दिर, भीमेश्वर मन्दिर, शैलुङ लगायतका पर्यटकीय स्थलमा पहिलेको झैँ धार्मिक पर्यटक तथा भक्तजन आउन थालेका छन् । त्यसैगरी स्थानीय तहले पर्यटक आकर्षित गर्न निर्माण र व्यवस्थित गरेको पूर्वाधारसहितको आकर्षक भ्यूटावर पार्क, संग्राहालय, झरना, गुफामा पुगेर टिकटक भिडियो, फोटो खिचेर रमाउनेहरु बढ्न थालेपछि रौनकता छाएको छ ।
समुद्री सतहबाट ३८ सय ४२ मिटर उचाईमा रहेको कालिञ्चोक मन्दिरमा प्रत्येक दिन पाँच सय भन्दा बढी भक्तजन दर्शनको लागि पुग्छन् । चरिकोट–कुरी सडक विस्तार भएकोले कुरीसम्म सवारीसाधनमा पुग्न सकिन्छ । त्यसपछि करिब एक किलोमिटर केबुलकारको यात्रापछि मन्दिर पुग्न सकिन्छ । यसको अलावा पैदल यात्रामा पनि मन्दिरसम्म पुग्न सकिने बाटो रहेको छ । मौसम खुलेको बेला यहाँबाट रोल्वालिङ र जुगल हिमश्रृङ्खला प्रष्ट अवलोकन गर्न सकिन्छ । यहाँको मज्जा लुट्नको लागि आन्तिरक तथा बाह्य पर्यटकको भीड लाग्छ ।
कालिञ्चोक दर्शन लिमिटेडले पर्यटकको मागलाई दृष्टिगत गरी कुरीदेखि मन्दिरसम्म सेवा दिन चारवटा केबुलकार सञ्चालन गरिरहेको छ । निषेधाज्ञा र कोरोना हटी मन्दिर खुलेपछि भारतीय पर्यटक र अन्य देशका पर्यटक दुई हजार र आन्तरिक पर्यटक गरी हालसम्म २० हजार भन्दा बढी दर्शनार्थीले केबुलकारको यात्रा गरेको कालिञ्चोक दर्शन लिमिटेडले जनाएको छ । अहिले दैनिक करिब पाँच सय जनाले केबलकार चढेर मन्दिर आवातजावत गर्ने गर्दछन् । यो महिनामा मौसम सफा मौसम भएको र दृष्यहरु अवलोकन गर्न सहज हुनेपछि पनि पर्यटकहरु यस क्षेत्रमा लालयित हुने गरेका छन् । विषेशगरी बिदाको दिनमा पर्यटकको ओइरो नै लाग्ने गरेको छ । कोरोनाको कारण बन्द रहेको केबलकार खोल्दा आम्दानी ह्वातै बढाइदिएको निर्देशक गुरु अधिकारीले बताउनुभयो । एक व्यक्तिले केबलकार यात्राको लागि पाँच सय रुपैयाँ भाडाबापत तिर्नुपर्छ भने विद्यार्थी र बृद्धलाई १५ प्रतिशत छुट रहेको छ ।
जिल्लामा मात्र नभई देशविदेशमा समेत सुप्रसिद्ध भीमेश्वर मन्दिर भीमेश्वर नगरपालिका–२ दोलखा बजारमा अवस्थित छ । मन्दिरको शिलामा पसिना उत्पन्न भएको बेला देशमा शुभ या अशुभ हुने पूर्वसंकेतको रुपमा हिन्दु धर्मावलम्बीले विश्वासका साथै स्वीकार गर्दछन् । पसिना आएको खण्डमा राष्ट्र प्रमुखबाटसमेत क्षमा पूजा गरिने यस मन्दिरको शिलामा १९९० देखि हालसम्म १८ औँ पटक पसिना आएको इतिहास छ । यो मन्दिरमा दर्शन गरे हरेक काममा सफलता मिल्ने तथा मनोकामना पूरा हुने मान्यता चलिआएको छ ।
भीमेश्वर मन्दिरमा कोरोना महामारीको बेला नित्य पूजा निरन्तर भएपनि कोरोना संक्रमण फैलने भन्दै दर्शनार्थीको लागि पटकपटक खोल्ने र बन्द गर्ने गरिएको थियो । मन्दिर बन्द भएको बेला गेट बाहिरबाटै दर्शन गर्नेहरु पनि त्यो समयमा देखिएका थिए । अहिले कोरोना भाइरस न्यूनीकरण हुँदै गएको र सुरक्षित अनि सामान्य अवस्था भएपछि खुल्ला गरिएको छ । हाल औसतमा पाँच सय जना दर्शनार्थीले यस मन्दिरमा दर्शन गर्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो ।
धार्मिक पर्यटनको लागि लोकप्रिय यस मन्दिर नजिकै पार्क तथा अन्य धार्मिक सम्पदा सुसज्जित अवस्थामा रहेकोले भीमेश्वर मन्दिर पुग्ने भक्तजन तथा पर्यटकहरुको त्यहाँ नपुगे चित्तै बुझ्न मान्दैन । मन्दिर नजिकै चम्पूजा हरियाली पार्क रहेको छ । जसलाई नगरपालिकाले थप व्यवस्थित बनाइरहेको छ । नेवार समुदायको बाहुल्यता रहेको दोलखा बजारमा विभिन्न चाडपर्वमा लाग्ने सांस्कृतिक पहिचान सहितको जात्राले पर्यटक लोभिन्छन् ।
दोलखा र रामेछापको सिमानामा रहेको शैलुङमा धार्मिक तथा पर्यटकीय स्थल शैलुङ प्रकृतिले दिएको अनुपम उपचार हो । यसको प्रमुख विषेशता भनेको एक सय भन्दा बढी थुम्का हुनु हो । यहाँबाट विभिन्न हिमश्रृङ्खला देख्न सकिन्छ भने पुसदेखि फागुन महिनामा थुम्काहरु हिँउले छोप्दा स्वर्ग खोज्न अन्त जानुपर्दैन ।
कोरोनाको कारण सरकारले निषेधाज्ञा गरी घरबाहिर निस्कन बन्देज गरेकोले यहाँ पनि घुम्नको लागि प्रतिबन्धजस्तै थियो । यद्यपी भीमेश्वर मन्दिरमा जस्तो कुनैपनि छेकबार नभएकोले शैलुङमा महामारीकै बीच पनि पर्यटकहरु आएर भ्रमण गरी रमाइलो गरेका थिए । अहिले शैलुङ पर्यटकले भरिभराउन हुन थालेको छ । स्थानीयका अनुसार दैनिक सयौँको संख्यामा पर्यटक आउने गरेको र यो संख्या बढ्न सक्ने सम्भावना देखिएको छ । शैलुङको कालापानीमा रहेको प्रवेशद्धारसम्म सवारीसाधनमार्फत पुग्न सकिन्छ । त्यसपछि करिब एक घण्टा उकालो बाटो पैदल हिँडेपछि शैलुङ पुगिन्छ । शैलुङमा पर्यटक आएपछि गाउँपालिका र स्थानीयको आर्थिक हैसियत फेरिने भन्दै शैलुङ गाउँपालिका शैलुङको प्रचारप्रसार र आवश्यक पर्यटकीय संरचना निर्माणमा अघि बढेको छ । स्थानीय सरकार आएपछि यहाँ एक वटा भ्यूटावर, बाटो, पर्यटकको सुविधा र आरामको लागि ठाउँठाउँमा प्रतिक्षालय निर्माण गरिएको छ । प्रदेश सरकारको सहयोगमा पटर्यटन गोल घर निर्माण गरिएको छ । सो घर भाडामा मासिक ५० हजार रुपैयाँ गाउँपालिकालाई तिर्ने गरी होटल सञ्चालनको लागि दिइने तयारी गरिएको छ । पर्यटन पूर्वाधार निर्माण गर्ने क्रममा कालापानीदेखि शैलुङसम्म शैलुङ ग्रेटवाल निर्माण सुरु भइसकेको र बुद्धको मुर्ति प्रतिस्थापन गरिएको छ । कालापानीमा शैलुङ आउने पर्यटकलाई लक्षित गरी स्थानीयले व्यक्तिगत लगानीमा सुविधासम्पन्न होटल खोल्ने क्रम जारी रहेको छ । यसैक्रममा एक तारे होटल खोल्न स्थानीय एक युवा समुहले तयारी पूरा गरिसकेको र काम सुरु हुन लागेको स्थानीयले बताए ।
उत्ता गौरीशंकर संरक्षण क्षेत्रमा कोरोना न्यूनीकरणभएसगैँ विदेशी पर्यटकहरु बढ्न थालेका छन् । असोज महिनामा ८० जना भन्दा बढी विदेशी पर्यटक यस क्षेत्रमा प्रवेश गरेको सूचना अधिकारी तुलसी दाहालले बताउनुभयो । त्यसैगरी आन्तरिक पर्यटकको संख्यामा भने बृद्धि भएको उहाँको दाबी छ । गौरीशंकर संरक्षण क्षेत्र दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा पर्ने हाल दुई वटा नगरपालिका र आठ वटा गाउँपालिकाका पूर्ण तथा आशिंक भागहरु मिलेर बनेको हो । यस क्षेत्रमा पर्यटकको सुविधाको लागि ८२ वटा होम स्टे रहेको छ । जसमध्ये गौरीशंकर गाउँपालिकामा ३२, विगु गाउँपालिकामा पाँच, जिरी नगरपालिकामा पाँच र कालिञ्चोक गाउँपालिकामा तीन वटा गरी दोलखामा ५२ वटा होम स्टे रहेको छ । गोकुलगंगा गाउँपालिकामा दश वटा, उमाकुण्ड गाउँपालिकामा पाँच वटा गरी रामेछाप क्षेत्रमा १५ वटा रहेको छ । त्यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा १५ वटा होम स्टे संरक्षण क्षेत्रमा दर्ता भई सञ्चालनमा रहेको संरक्षण क्षेत्रले जनाएको छ । स्थानीय संस्कृति तथा पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने गरी संरक्षण क्षेत्रले होम स्टेको लागि गएका वर्षहरूमा आवश्यक तालिम र सामग्रीका साथै अन्य सहयोग उपलब्ध गराएको सूचना अधिकारी दाहालले बताउनुभयो । पर्यटकको संख्यामा बढ्न थालेपछि यहाँका होमस्टे सञ्चालकहरु उत्साहित भएका छन् ।
प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लाको जिरी, च्योर्दोङ्ग, हनुमन्ते, फिल्म सिटी निर्माण क्षेत्र खरिढुँगा, विगु गुम्बा, लामाबगर लगायतका क्षेत्रमा पर्यटकीय गविविधि हुन थालेको छ । यसले कोरोनाको मारमा थला परेका पर्यटन व्यावसायीलाई राहत मिलेको छ । उनीहरु यस्तो प्रकारको विपत्ति तथा मारमा अब कहिल्यै पर्न नपरोस् भन्ने चाहन्छन् । नेपालमा विभिन्न प्रकोप तथा विपतिका कारण पर्यटन क्षेत्रमा ठूलो समस्या तथा क्षति पुग्ने गरेको छ । २०७२ सालको भूकम्पले पनि पर्यटन व्यवसायमा नराम्रो क्षति पुगेको थियो । दुई वर्ष कोरोनाले अन्य क्षेत्र भन्दा बढी पर्यटन क्षेत्रमा असर परेको छ । सरकारले दीर्घकाल सम्मको लागि ठोस रणनीति बनाएर पर्यटन प्रवर्द्धन गर्न ढिलाई गर्नु भएन भन्ने पर्यटन व्यावसायी तथा पर्यटकहरुले जोडदार माग गर्न छाडेका छैनन् ।
Be the first to comment on "तंग्रिदै दोलखामा पर्यटन क्षेत्र"