बबिना नेपाली
चरिकोट, कार्तिक २५
दोलखामा न्यायिक समितिको काम प्रभावकारी बनेको छ । गाउँ हुने गरेको विवाद गाउँमैँ मिलाउनुपर्छ भन्ने अवधारणासहित पालिका उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा गठन भएका न्यायिक समितिले प्रभावकारी काम गरिरहेको हो ।
७४ वटा वडा र नौ वटा पालिका रहेको दोलखामा सबै पालिकामा न्यायिक समिति र वडास्तरमा मेलमिलाप केन्द्र स्थापना भएपछि सामान्य विवाद समाधानको लागि अड्डाअदालत र प्रहरीकहाँ जानुपर्ने अवस्थाको अन्त्य भएको छ । यसले स्थानीय स्तरमैँ न्याय पाउन सकिने कुरा उजागर भईरहेको छ ।
न्यायिक समिति सक्रियतामा स्थानीयलाई विवाद समाधानको लागि सहज भएको बताउनुहुँदै तामाकोशी गाउँपालिकाका न्यायिक सहजकर्ता शारदा महत्तले भन्नुभयो “यसअघि सानोतिनो मुद्धाहरुको लागि अदालत धाउनु पर्ने, समयसगैँ धेरै पैसा खर्च हुने हुन्थ्यो । तर अहिले न्यायिक समिति बनेपछि गाउँमैँ मुद्धाको छिनोफानो भई मेलमिलाप हुन्छ ।” उहाँले भन्नुभयो “समितिमा सामान्य भनाभन, विवाद, झैझगडा, साँधसिमना, जग्गा विवाद, लेनदेन लगायतका विवाद र समस्याका मुद्धाहरु दर्ता भएका छन् । ती मध्ये ९५ प्रतिशत मुद्धा दुबै पक्षको जीत हुने गरी निरुपण गरिएको छ ।”
जिरी नगरपालिकाको न्यायिक समितिले पनि न्याय सम्पादनमा उल्लेख्य प्रगति हासिल गरेको छ । चालुको आवको साउनदेखि हालसम्म १५ वटा उजुरी दर्ता भएकोमा १३ वटा मेलमिलापको माध्यमबाट किनारा लगाइएको र दुई वटा प्रक्रियामा रहेको कानुनी सहजकर्ता अनिता जिरेलले बताउनुभयो । न्यायिक समितिमा छलफल गरेर मिलापत्रको सहमति भएपछि नागरिक सन्तुष्ट भएको र न्यायिक समिति प्रति विश्वास बढेको उहाँले बताउनुभयो ।
यता शैलुङ गाउँपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्षको हालसम्म एक वटा पनि मुद्धा परेको छैन । यद्यपी एक वटा मुद्धा अघिल्लो आवको सरी आएको थियो । सो मुद्धा बारे दुवै पक्षलाई उपस्थित गराई छलफल गरेपनि नमिलेपछि अन्तै जान सिफारिस गरिएको न्यायिक सहजकर्ता शर्मिला खड्काले बताउनुभयो । चालु आवमा कोरोनाको प्रभावले गर्दा न्यायिक समितिमा उजुरी नपरेको उहाँले बताउनुभयो । “न्यायिक समितिमा चालु आवको हालसम्म एक वटा पनि उजुरी नपर्नुको अर्थ गाउँमा विवाद तथा मनमुटाव नभएको भन्ने हुन्छ । विवादरहीत समाज निर्माण गर्नुपर्छ भन्ने मान्यता बढेकोले यस्तो भएको हुनसक्छ ।”
Be the first to comment on "दोलखामा प्रभावकारी बन्यो न्यायिक समिति"