इश्वर बिश्वकर्मा
चरिकोट, असोज २९
आज हिन्दु धर्मवलम्बीको महान चाड दशैँको मुख्य दिन विजयादशमी । आजदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म घरघरमा मान्यजन तथा आफन्तको हातबाट टीका लगाउने प्रचलन रहेको छ । यसैबीच विभिन्न प्रकृतिका अपराध गरी सजाय भोगिरहेका कैदीबन्दी तथा थुनुवाहरुले पनि कारागारमैँ टीका लगाएका छन् ।
प्रहरी सहायक निरीक्षक शिव प्रसाद पाठकका अनुसार आज टीकाको पहिलो दिन जिल्ला कारागार दोलखामा रहेका कैदीबन्दी र थुनुवा गरी १२ जनाले टीका लगाएका छन् । उनीहरुका आफन्त कारागारमैँ आई कोरोनालाई दृष्टिगत गर्दै आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर टीका लगाइदिएका हुन् । टीका तथा जमराको व्यवस्था कारागारमैँ गरिएको उहाँले बताउनुभयो ।
आज नजिकै रहेका कैदीबन्दीका आफन्तले टीका लगाइदिएका छन् । कोजाग्रत पूर्णिमाको दिनसम्ममा लगाइने भएकोले अन्यका पनि आफन्तहरु आएर टीका लगाउन मिल्ने व्यवस्था गरिएको छ । टीका लगाउन जाँदा कोसेलीको रुपमा खानेकुरा मात्र लैजान पाइने कारागारले जनाएको छ । कारागारमैँ भएपनि टीका लगाएर दशैँ मनाउन पाँउदा कैन्दीबन्दी खुशी भएका छन् ।
कारागारमा हाल एक सय ३५ जना कैन्दीबन्दी र थुनुवा रहेका छन् । यद्यपी कारागारको क्षमता ५१ जनाको मात्र हो । क्षमता भन्दा बढी कैदीबन्दी राख्दा कैदीबन्दी तथा थुनुवाले कोचाकोच र कष्टकर स्थितिको सामना गरिरहे पनि प्रहरी सहायक निरीक्षक पाठकले त्यस्तो अवस्था नरहेको दाबी गर्नुभयो ।
एक सय बढी मुढा बिक्री
कैदीबन्दीले कारागारमै सामुहिक रुपमा काम गरी आयआर्जन गरिरहेका छन् । उनीहरुले मुढा, त्रिशुल बनाउनुका साथै सिलाई सम्बन्धि काम गर्ने गरेको प्रहरी सहायक निरीक्षक पाठकले बताउनुभयो । दशैँ सुरु भएदेखि हालसम्म कारागारबाट करिब एक सय भन्दा बढी मुढा बिक्री भएको छ । एउटा मुढालाई पाँच सय देखि पाँच हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको बताइएको छ । यी सामग्री निर्माणको लागि कारागार प्रशासनले कच्चा पदार्थ उपलब्ध गराउन आवश्यक समन्वय र सहजीकरण गर्ने गरेको छ ।
Be the first to comment on "कारागारमा टीका र जमरा !"