इश्वर बिश्वकर्मा/चरिकोट, – ३१ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस चरिकोटमा शुक्रबार विविध कार्यक्रम गरी मनाइएको छ । ‘सबै उमेरका समुहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने मुल नाराको साथ भीमेश्वर नगरपालिकाको प्रायोजनमा ज्येष्ठ नागरिक संघको आयोजनामा चरिकोटमा दिवस मनाइएको हो । दिवसको अवसरमा आयोजित समारोहको उद्घाटन नगर प्रवक्ता एवं वडा नम्बर ४ का वडाध्यक्ष हरिवंश चौलागाईँले गर्नुहुँदै अनुभवका भण्डारको रुपमा रहेका ज्येष्ठ नागरिकको हकअधिकारको सुनिश्चिताको लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकोले भीमेश्वर नगरपालिकाले पनि सो प्रयास गरेको बताउनुभयो । उहाँले एक सय बाट सुरु भएको बृद्धाभत्ता बढाएर चार हजार दिन थालेपछि ज्येष्ठ नागरिकमा खुशी छाएको र फेरी बढाएर पाँच हजार पाउने आशामा उनीहरु रहेकोले राज्यको यसतर्फ ध्यान जान जरुरी रहेको बताउनुभयो । बृद्धा भत्ताको दुरुपयोग र अनियमितता रोक्न यसको वितरण बैँक मार्फत् गर्न थालिएको बताउनुभयो । त्यस्तै सार्वजनिक यातायातमा पाउनुपर्ने छुट सुविधा कार्यान्वयनको लागि निरन्तर प्रयास भएको बताउनुहुदैँ उहाँले भन्नुभयो “अधिकार मागेर होइन, खोसेर पाइन्छ । त्यसैले ज्येष्ठ नागरिकले अब स्थानीय सरकारको सहयोग लिएर सम्पूर्ण अधिकारको उपयोग गर्नुपर्छ ।” दिवसको अवसरमा नगरभित्र बसोबास गर्ने चार जना ज्येष्ठ नागरिकलाई दीघार्यू, सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनको कामना सहित सम्मान गरिएको छ । वडा नम्बर ७ का बम बहादुर थापा, वडा नम्बर ४ का गणेश बहादुर केसी, वडा नम्बर २ का काली कमिनी र वडा नम्बर ३ का मान कुमारी राउतलाई नगर प्रवक्ता चौलागाईँले दोसल्ला ओढाई नगद प्रदान गरी सम्मान गर्नुभयो । ज्येष्ठ नागरिकलाई सदैव सम्मान गर्नुपर्ने सन्देश दिँदै उहाँहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा तामाकोशी गाउँपालिका–२ झुलेका प्रेम बहादुर कार्कीले स्थानीय सरकारले ज्येष्ठ नागरिकको हितमा कूनै काम नगरेको आरोप लगाउनुहुँदै राज्यबाटै आफूहरु अपहेलित र उपेक्षामा परेको बताउनुभयो । मन्तव्यको क्रममा कविता प्रस्तुत गर्नुहुदैँ बलशक्ति हुँदा राज्यलाई सहयोग गर्ने तर गाला चाउरी परेपछि आफूहरुलाई राज्यले सहयोग नगर्नु दुखको कुरो रहेको बताउनुभयो । उहाँले बैँकमार्फत बृद्धाभत्ता पाउन कठिन परिस्थितिको सामाना गर्नुपरेको, सार्वजनिक सवारीमा छुट पाउन नसकिएको, सातदोबाटोमा प्रतिक्षालय तथा शौचालय नभएको गुनासो गर्नुहुदैँ भाषण गर्दा मख्ख पार्ने तर व्यवहारमा निराश पार्ने गाउँको सिंहदरबारले ज्येष्ठ नागरिकको हित नचाहेको आरोप लगाउनुभयो । प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का सुरुमैँ एक मिनेटको मन्तव्य राखेर हिड्न लाग्दा रिसाउनुभएका कार्कीले ज्येष्ठ नागरिकको गुनासो सुनुवाई नहुनु दुखद भएको बताउनुभयो । संघका अध्यक्ष रंगध्वज बुढाथोकीको अध्यक्षतामा भएको समारोहमा संघका निवर्तमान अध्यक्ष रामदास श्रेष्ठ, नगरका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, महिला तथा बालबालिका शाखा प्रमुख सुर्जा दाहाल, संघका उपाध्यक्ष नारायण भक्त श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । संयुक्त राष्ट्र संघले सन् १९९० मा घोषणा गरेअनुरुप अक्टोबर १ लाई संसारभर नै अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाइने गरिन्छ । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।
Be the first to comment on "जेष्ठ नागरिक सम्मानित"