नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनको उद्घाटन

श्वर बिश्वकर्मा
चरिकोट, असोज १५
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार दोलखा जिल्ला अधिवेशनको उद्धघाट्न समारोह सम्पन्न भएको छ । सदरमुकाम चरिकोट स्थित सिमपानी हलमा आयोजित अधिवेशन समारोहको नेपाली कांग्रेसका नेता संघीय सांसद जीप छिरिङ लामाले पानसमा बत्ती बाल्नुका साथै बिपी कोइरालाको तस्बिरमा माल्यार्पण गरीे उद्घाटन गर्नुभयो ।
समारोह उद्घाटन गर्नुहुँदै विगतका कुरालाई कोट्याएर पार्टीभित्रै गालीगलौज गर्दा पार्टी धरापमा पर्ने भएकोले सहमति, सहकार्य र मेलमिलापका साथ अघि बढ्नुपर्ने बताउनुभयो । नयाँ नेतृत्वले कांग्रेसलाई थप सुदृढ बनाई आगामी चुनावमा अन्य दललाई पराजित गर्ने गरी सशक्त भूमिका निर्वाह हुनुपर्ने बताउनुभयो । “मिलेर जानुपर्छ भन्दा उल्टै मेरो खोइरो खन्छन्, उनीहरुलाई अझै भन्छु मिलेर जाउँ, पार्टीलाई मजबुत बनाउँ ।” उहाँले भन्नुभयो ।
वर्तमान सभापति रुद्र बहादुर खड्काले आफुले १३ औं महाधिवेशनबाट नेतृत्व हात पारेपछि कांग्रेसलाई मजबुत र बलियो बनाउन धेरै कामहरु गरेको दाबी गर्दै प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले कांग्रेसलाई थप नयाँ उचाईमा लग्न सभापति पदमा दोहो¥याउने निर्णय गरेको सुनाउनुभयो । पार्टीका उपाध्यक्ष कृष्ण गोपाल केसीले पाँच वर्षसम्म भएको आयव्यय सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको भएको थियो ।
कांग्रेसका निवर्तमान सभापति तारा बहादुर कोइरालाले स्वस्थ प्रतिस्पर्धामा हारजित भएपनि स्वीकार गरी सहमतिका साथ अघि बढ्नुपर्ने बताउनुभयो । सिद्दान्त घोकाएर, सुनाएर पार्टीमा कार्यकर्ता नबढ्ने बताउनुहुदै सहि एजेन्डा लिएर बढे पार्टी सुदृढ हुने बताउनु भयो ।
पूर्व पार्टी सभापति उद्धवराज काफ्लेले नयाँ नेतृत्व, नयाँ जोश, उत्साह र उमंगका साथ कांग्रेसलाई कार्यकर्ता तथा नेताको आकर्षण केन्द्र बनाइनुपर्ने बताउनुभयो ।
सभापतिका उमेद्वार तारा कुमार खड्काले समारोहमा आक्रमक शैलीमा प्रस्तुत हुँदै नेतृत्व कस्तो हुने आफूले जितेपछि देखाइदिने दाबी गर्नुभयो । अघिल्लो नेतृत्व असफल भएको आरोप लगाउँदै उहाँले अधिवेशनमा प्रस्तुत प्रगति प्रतिवेदनमाथी प्रश्न गर्नुभएको थियो ।
सभापतिका अर्का उमेद्वार केशवराज चौलागाईँले गुट उपगुटको जन्जालमा फसेको कांग्रेसलाई बचाउन आफूले सर्वस्व दिन तयार रहेको बताउनुहुदै अब आफूले जिल्ला नेतृत्व सम्हाल्न पैसा नभएपनि हिम्मत राखेको बताउनुभयो ।
सभापतिका उमेद्वार बर्मा लामाले कार्यकर्ता र जनताको लागि आफू ‘सिपाही’ रहेको सुनाउनुहुदैं अब अन्तिम पटक कांग्रेस रक्षार्थ ‘लडाईं’मा होमिएको सुनाउनुभयो । ‘लडाईं’ को मैदानमा विजयी हासिल गरे नयाँ योजनाको साथ काम गर्ने र पराजय भए नयाँ नेतृत्वलाई समर्थन र साथ दिने बताउनुभयो ।
नेता कुन्दन काफ्लेले अधिवेशनमा लोभ लालच देखाएर नेतृत्व हत्याउन खोज्नेहरु सक्रिय भएकोले कार्यकर्ता सचेत हुनुपर्ने बताउनुहुँदै असल नेतृत्व गर्न सक्ने युवालाई जिम्मेवारी हस्तान्तरण गरिनुपर्ने बताउनुभयो ।
त्यसैगरी क्षेत्र नम्बर २ का सभापति चित्र प्रसाद दाहालले आफ्नो योगदान र क्रियाशीलतालाई कदर गर्दै सर्वसम्मत रुपमा नेतृत्व गर्ने जिम्मेवारी दिइएकोमा खुसी व्यक्त गर्नुभयो । आज जिल्ला सभापति सहित पदाधिकारी तथा जिल्ला कार्यसमिति सदस्य तथा २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधीको लागि उम्मेदवारी दर्ता भएको छ । शनिबार आठ बजेपछि नयाँ नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया शुरु हुने बताइएको छ ।

Shares

Be the first to comment on "नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनको उद्घाटन"

Leave a comment

Your email address will not be published.


*