गौरीशंकर संरक्षण क्षेत्रमा ५९ जना किसान चितुवा पीडित

इश्वर बिश्वकर्मा /चरिकोट, –दोलखा, सिन्धुपाल्चोक र रामेछाप जिल्ला समेटि बनेको गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने ५९ जना किसान वन्यजन्तु पीडित भएका छन् । गत वर्ष २०७७÷०७८ को अवधिमा ती किसान चितुवाबाट पीडित भएका हुन् । संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसी प्रसाद दाहालका अनुसार ५९ जना किसानले पालेका गाईभैँसी, भेडा, बाख्रा गरी ८८ वटा पशु चितुवाको शिकार बनेको छ । चितुवाले किसानको घरगोठमै र चरनमा भएको बेला पशुलाई आक्रमण गरी क्षति गर्ने गरेको छ ।
पछिल्लो वर्षहरुमा संरक्षण क्षेत्रभित्र बसोबास गर्ने किसानहरु अन्य वन्यजन्तुबाट भन्दा चितुवाबाट पशुधन गुमाउन बाध्य छन् । गत वर्ष ५९ किसानले चितुवाले घरपालुवा जनावर मारेको भन्दै संरक्षण क्षेत्रमा क्षतिपूर्तिको माग सहित निवेदन दिएका थिए । तीमध्ये ४९ जनालाई क्षतिको मूल्याङ्कन गरी राहत स्वरुप रकम उपलब्ध गराइएको छ । त्यसबापत छ लाख ६७ हजार तीन सय ३३ रुपैयाँ खर्च भएको सूचना अधिकारी दाहालले बताउनुभयो । त्यसैगरी गत वर्ष एक जनालाई भालुको आक्रमणबाट घाइते भएका छन् । उहाँले चोटपटकको आधारमा राहत उपलब्ध गराइएको उहाँले बताउनुभयो । अघिल्लो आवमा वन्यजन्तुको आक्रमणमा परी सख्त घाइते भएका दुई जनालाई पनि गत वर्ष राहत रकम प्रदान गरिएको छ । वन्यजन्तुले संरक्षण क्षेत्रभित्र बसोबास गर्ने मानिसमा आक्रमण गरी घाइते बनाउनुका साथै पशुधन बालीको हानीनोक्सानी गरिरहेको छ । यसको न्युनिकरण तथा रोकथामका लागि आवश्यक पहल भईरहेको संरक्षण क्षेत्रले जनाएको छ ।

Shares

Be the first to comment on "गौरीशंकर संरक्षण क्षेत्रमा ५९ जना किसान चितुवा पीडित"

Leave a comment

Your email address will not be published.


*