कोरोनाले बालमैत्री अभियान प्रभावित

इश्वर बिश्वकर्मा /चरिकोट, – दोलखाको जिरी नगरपालिकामा कोरोना महामारीको कारण बालमैत्री नगर घोषणाको तयारी अभियान प्रभावित भएको छ । नगरले २०७८ सालमा बालमैत्री घोषणा गर्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७६÷०७७ देखि बजेट विनियोजन गरेर यसका सूचकहरु पुरा गर्न बालमैत्री अभियानको शुभारम्भ गरेको थियो । तर कोरोना महामारीका कारण सूचकहरु पुरा गर्न नसक्दा निर्धारित समयमा बालमैत्री नगर घोषणा नहुने सम्भावना बढेको नगरले जनाएको छ ।
नौ वटै वडाको विद्यालय तथा समुदायमा गरी ७९ वटा बाल सञ्जाल, बाल क्लब गठन गरी परिचालन, सरोकारवालालाई अभिमुखिकरण तालिम, बालबालिकाको अवस्थाको अनुगमन तथा तथ्याङ्क संकलन लगायतका कार्यसहित बालमैत्री नगर अभियानको सुरुवात गरिएको थियो । अभियानबाट केही सूचक पुरा भएको छ । तर अरु सबै सूचकहरु पुरा गर्ने योजना अनुसार काम गर्दागर्दै कोरोना महामारी र यसको रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण अभियान रोक्न बाध्य भएको अभियानका बाल सहजकर्ता लक्ष्मी खड्काले बताउनुभयो । “कोरोना अघि अनुगमन गर्दा नगर बाल श्रम मुक्त थियो । बाल विवाह शुन्य थियो । तर कोरोनापछि अवस्था त्यस्तो नहुन पनि सक्छ । त्यसैले त्यो समयमा पुरा भएको सूचक पुनः काम गरी पुरा गर्नुपर्ने भएको छ ।” उहाँले भन्नुभयो । अहिले कोरोना महामारी न्यूनिकरण भई जनजीवन सामान्य अवस्थामा फर्किसकेकोले चालु आवको पुस महिनासम्ममा बाल मैत्री घोषणा गर्ने लक्ष्यका साथ अभियानलाई निरन्तरता दिइने सहजकर्ता खड्काले बताउनुभयो । बालमैत्री स्थानीय तह घोषणाका लागि ३९ वटा सुचक र बाल बचाउ, बाल संरक्षण, बाल सहभागिता र बाल विकास गरी चार वटा क्षेत्रमा काम गर्नुपर्ने हुन्छ । अहिले कोरोना महामारी न्यूनिकरण भई जनजीवन सामान्य अवस्थामा फर्किसकेकोले चालु आवको पुस महिनासम्ममा बाल मैत्री घोषणा गर्ने लक्ष्यका साथ अभियानलाई निरन्तरता दिइने सहजकर्ता खड्काले बताउनुभयो । यसका लागि चालु आवमा २० लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "कोरोनाले बालमैत्री अभियान प्रभावित"

Leave a comment

Your email address will not be published.


*