इश्वर बिश्वकर्मा /चरिकोट,––कोरोना नहुँदो हो त दोलखा, रामेछाप, सिन्धुपाल्चोकको दुई नगरपालिका र आठ वटा गाउँपालिका समेटी निर्माण भएको गौरीशंकर संरक्षण क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन्थ्यो । यस क्षेत्रमा खोलिएका होमस्टे सञ्चालकहरुलाई पाहुनाको सत्कार गर्न भ्याइनभ्याई हुन्थ्यो । उनीहरु बाह्रै महिना व्यस्त हुन्थे । तर दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको कारण संरक्षण क्षेत्रमा पर्यटक आएका छैनन् । यसले संरक्षण क्षेत्रसँगै यस क्षेत्रमा सञ्चालित होमस्टे सञ्चालकलाई मार परेको छ । मौलिक सजावटले आकर्षक तथा सुविधासम्पन्न होमस्टेको स्वाद र सुन्दरता हेरिदिने कोही छैनन् । कोठाहरु पाहुनाविहीन छ ।सञ्चालकहरु पाहुनाको पर्खाइमा बाटो हेरेर दिन बिताइरहेका छन् ।
कोरोना भाईरस न्यूनिकरण भई जनजीवन सामान्य बन्दै गएपनि अहिलेसम्म उनीहरुले पाहुना पाउन सकेका छैनन् । कोरोनाको पहिलो लहर मत्थर हुँदै गएपछि नोक्सान बेहोरिरहेको होमस्टे सञ्चालकको आम्दानी बढ्ने आशा गरिएको थियो । कोरोनाको पहिलो लहर सकिएपछि संरक्षण क्षेत्रमा ३० जना मात्र विदेशी पर्यटक आएका छन् । यो अति न्यून संख्या हो । आन्तरिक पर्यटक पनि अति कम संख्यामा संरक्षण क्षेत्रमा भित्रिएका थिए । यद्यपी बिस्तारै पर्यटकको आगमन बढ्ने आशा र पर्खाइमा यहाँका होमस्टे सञ्चालकहरु रहेका थिए । त्यसपछि बैशाखयता कोरोना महामारीको दोस्रो लहर आएसँगै पर्यटकको आगमन हुन सकेको छैन । यसले होम स्टे धरासयी बनाएको छ, भने यसमा काम गर्नेहरु कामविहीन बनेका छन् । यस क्षेत्रमा ८२ वटा होम स्टे रहेको संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकारी तुलसी प्रसाद दाहालले बताउनुभयो । जसमध्ये गौरीशंकर गाउँपालिकामा ३२, विगु गाउँपालिकामा पाँच, जिरी नगरपालिकामा पाँच र कालिञ्चोक गाउँपालिकामा तीन वटा गरी दोलखामा ५२ वटा होम स्टे रहेको छ । गोकुलगंगा गाउँपालिकामा दश वटा, उमाकुण्ड गाउँपालिकामा पाँच वटा गरी रामेछाप क्षेत्रमा १५ वटा रहेको छ । त्यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा १५ वटा होम स्टे संरक्षण क्षेत्रमा दर्ता भई सञ्चालनमा रहेको संरक्षण क्षेत्रले जनाएको छ । स्थानीय संस्कृति तथा पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने गरी संरक्षण क्षेत्रले होम स्टेको लागि गएका वर्षहरुमा आवश्यक तालिम र सामग्रीका साथै अन्य सहयोग उपलब्ध गराएको थियो ।
१० वर्षमा २० हजार मात्र विदेशी पर्यटक
संरक्षण क्षेत्रमा दश वर्षको अवधिमा २० हजार भन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । आयोजनाको आर्थिक वर्ष २०६७÷०६८ मा तीन सय ६७ जना, २०६८÷०६९ मा एक हजार पाँच सय २३ जना, २०६९÷७० एक हजार नौ ९३ जना पर्यटक आएका थिए । २०७०÷०७१ मा पर्यटकको संख्या बढेको थियो । सो वर्ष दुई हजार नौ सय ९४ जना पर्यटक आएका थिए । २०७१÷२०७२ मा दुई हजार आठ सय ५९ जना, २०७२÷२०७३ मा एक हजार आठ सय ३८ जना, २०७३÷०७४ मा दुई हजार सात सय ७२ जना पर्यटक आएका थिए । २०७४÷२०७५ मा दुई हजार ६ सय ६८ जना पर्यटक आएका थिए । २०७५÷०७६ मा दुई हजार पाँच सय २८, २०७६÷०७७ मा एक हजार पाँच सय १९ जना पर्यटक आएका थिए । नेपालमा विभिन्न प्रकोप तथा विपतिका कारण पर्यटन क्षेत्रमा ठूलो समस्या तथा नोक्सान पुग्ने गरेको छ । २०७२ सालको भूकम्पले पनि पर्यटन व्यवसायमा क्षति पुगेको थियो । अहिले कोरोनाले अन्य क्षेत्र भन्दा बढी प्रभावित बनाएको छ । त्यसैले सरकारले दीर्घकाल सम्मको लागि ठोस रणनीति बनाएर पर्यटन प्रवद्र्धन गर्नुपर्ने देखिन्छ ।
गुलेली बुझाइयो
वन्यजन्तु तथा चराचुरुङ्गीको क्षति गर्ने होइन, संरक्षण गर्नुपर्ने सन्देश प्रवाहका लागि आयोजनाले गुलेली संकलन अभियान सञ्चालन गरिरहेको छ । संरक्षण क्षेत्रमा चराचुरुङ्गी वन्यजन्तु तथा तिनको वासस्थान संरक्षणको उद्धेश्यसहित १४ औँ राष्ट्रिय संरक्षण दिवस २०७८ को अवसरमा प्रहरीसँगको समन्वयमा गुलेली संकलन अभियान सुरु गरेको हो । जँगली जनावर तथा पन्छीको चोरी शिकारी र क्षति गर्नु दण्डणीय रहेको छ । यसमा संलग्न व्यक्तिलाई कारबाही हुन्छ । यो सम्बन्धि कानुनी ज्ञान तथा आवश्यक सचेतना फैलाई वन्यजन्तु तथा पन्छीको संरक्षणमा मानिसहरुलाई जागरुक बनाउन गुलेली अभियान सञ्चालन गरिएको सूचना अधिकारी दाहालले बताउनुभयो ।
उहाँले भन्नुभयो “संरक्षण क्षेत्रमा मात्र होइन, अन्य वनजँगलमा पनि वन्यजन्तु लेखट्न, मार्न तथा क्षति पुग्ने कार्य गर्न पाइदैन । यसबारे समुदाय स्तरमा अझै सचेतनाको अभाव देखिएको छ । त्यसैले सचेतना फैलाएर दुरगामी प्रभावका लागि यो अभियान सञ्चालन गरिएको हो ।” संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई परिचालन गरी गुलेली सङ्कलन भइरहेको संरक्षण क्षेत्रका सूचना अधिकारी दाहालले बताउनुभयो । बिहीबार सिंगटी बजारबाट सञ्चालन गरिएको अभियानमा स्थानीयले ३४ वटा गुलेली र गुलेली बनाउन प्रयोग हुने तीन सय ७७ थान रबर संरक्षण क्षेत्रलाई बुझाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार गुलेली, भाला, त्रिशुल, खुकुरी लगायत अन्य साधनको प्रयोग गरी वन्यजन्तु तथा पशुपन्छीलाई लेखट्न, जिस्काउन, घाइते बनाउन, मार्न बासस्थान भत्काउन तथा क्षति पु¥याउन पाइदैन ।
Be the first to comment on "पर्यटकको पर्खाइमा होमस्टेका संञ्चालक"