दोलखामा जनगणनाको लागि ८६ जना सुपरिवेक्षक परिचालन

इश्वर बिश्वकर्मा ÷चरिकोट, –दोलखामा जनगणनाको पहिलो चरण पुरा गर्न ८६ जना सुपरिवेक्षक परिचालन भएका छन् । असोज १८ गतेसम्म घर तथा परिवार सुचिकरण सक्ने लक्ष्यसहित जिल्लाको नौ वटै स्थानीय तहमा भदौ ३० गतेदेखि सुपरिवेक्षक परिचालन भएका हुन् । सबैभन्दा धेरै भीमेश्वर नगरपालिकामा १७, जिरी नगरपालिकामा नौ, विगु गाउँपालिकामा आठ, गौरीशंकर गाउँपालिकामा सात, कालिञ्चोकमा दश, बैतेश्वर, मेलुङ र शैलुङ गाउँपालिकामा नौ–नौ तथा तामाकोशी गाउँपालिकामा आठ जना तालिम प्राप्त सुपरिवेक्षक खटिएको जिल्ला जनगणना कार्यालय दोलखाले जनाएको छ । परिवारको मुख्य सदस्य, परिवार सदस्य संख्या कति, कृषि र पशुपन्छीको अवस्था, घर बनाउन सरकारी अनुदान लिएनलिएको, बैँक खाता भएनभएको, ऋण भएनभएको, व्यावासायिक सीप विकास तालिम लिएनलिएको लगायत २० वटा प्रश्नको उत्तर खुलाई फाराम भरेर घर तथा परिवार सुचिकरण कार्य भईरहेको जिल्ला जनगणना अधिकारी सन्तोष कार्कीले बताउनुभयो । बैशाख अघि सुपरिवेक्षक छनोट गरी पाँचदिने तालिम दिएर जनगणनाको प्रक्रिया सुरु भएपनि सरकारले कोरोना महामारीकाको कारण जनगणना कार्य स्थगित गरेको थियो । कोरोना न्यूनिकरण भएसगैँ पहिलो चरणमा घरपरिवार सुचिकरणका लागि सुपरिवेक्षक परिचालन गरी पुनः जनगणनाको कार्य प्रारम्भ गरिएको हो ।
पाँच वटा कार्यालय
जनगणनालाई सहज बनाउन जिल्लामा पाँच वटा कार्यालय स्थापना गरिएको छ । चरिकोट स्थित जिल्ला समन्वय समितिको भवनमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । विगु र गौरीशंकर गाउँपालिका कार्य क्षेत्र बनाएर विगु गापा कार्यालय सिंगटीमा, कालिञ्चोक गाउँपालिका र भीमेश्वर नगरपालिकामा कार्य क्षेत्र तोकेर भीमेश्वर नगरपालिकाको कार्यालयमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको छ । त्यसैगरी जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाको लागि बैतेश्वरमा तथा मेलुङ र शैलुङ हेर्ने गरी मेलुङमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी कार्कीले बताउनुभयो ।
कार्तिक १३ देखि जनगणना शुरु हुने
देशभर आगामी कार्तिक २५ गतेदेखि जनगणना एक साथ सुरु गरिने भएको छ । दोलखामा असोज १० गतेसम्म गणकहरु सार्वजनिक गरी कार्तिक १३ देखि एक साता तालिम प्रदान गरिने छ । तालिमको सहजीकरण सुपरिवेक्षकले गर्ने छन् । सम्पुर्ण तयारी पुरा भएपछि कार्तिक २५ देखि मंसिर नौ गतेसम्म मुख्य जनगणना गरिने बताइएको छ ।

Shares

Be the first to comment on "दोलखामा जनगणनाको लागि ८६ जना सुपरिवेक्षक परिचालन"

Leave a comment

Your email address will not be published.


*