इश्वर बिश्वकर्मा
चरिकोट, असार ३१
दोलखामा कोरोना संक्रमित ७२ वर्षिया बृद्धाको अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर २ स्थित राम्पामा बस्दै आएकी ती बृद्धाको चरिकोट अस्पतालमा उपचारको शिलशिलामा बुधबार राती मृत्यु भएको हो । ती बृद्धामा असार २३ गते कोरोना संक्रमण पुष्टि भएको र अस्पतालमा भर्ना भई उपचाररत रहेपनि मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख अर्जुन पौडेलले बताए । ती बृद्धाको स्थायी ठेगना कालिन्चोक गाउँपालिका वडा नम्बर ८ रहेको बताइएको छ । जिल्लामा दोस्रो लहरको कोरोना संक्रमणको सुरुवाती अवधिमा धाेरै सँख्याका मानिसकाे मृत्यु भएपनि पछिल्ला दिनहरुमा मृत्यु रोकिएको थियो । तर राम्पामा बस्ने बृद्धाको मुत्युुसगैँ त्रास बढेको छ । हालसम्म जिल्लामा १० जनाको संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालयको आंकडामा रहेको छ । जसमध्ये सबैभन्दा बढी विगु गाउँपालिकामा चार जनाको मृत्यु भएको छ । भीमेश्वर नगरपालिकाका एक, कालिन्चोक गाउँपालिकाका दुई, शैलुङ गाउँपालिकाका एक, मेलुङ गाउँपालिकाका एक, बैतेश्वर गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुरुष छ र महिला चार रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
Be the first to comment on "दाेलखामा कोरोनाले बृद्धाको ज्यान लियो"