इश्वर बिश्वकर्मा
चरिकोट, असार २८
दोलखाका छ जना युवाहरुले सहज यातायात सेवा दिने उद्धेश्यका २०७६ सालबाट अटो रिक्सा सञ्चालन गरे । तर उनीहरुले सुुचारु गरेको सेवा मापदण्ड विपरीत भएको भन्दै विवादमा तानियो । साँघुरो, घुमाउरो र उकालो–ओरालो सडकका कारण दुर्घटनाको दृष्टिले अटो रिक्सा सञ्चालन गर्न जोखिम रहेको भन्दै भीमेश्वर नगरपालिकाले केही महिना रोक्यो । तर ती युवाहरुले हिम्मतका सम्पूर्ण विधि र प्रक्रिया मिलाएर पुनः सेवा सुचारु गरे । स्थानीयको आवश्यकता र माग अनुसार सुरु गरिएको यो सेवाबाट धेरै यात्रुहरु लाभान्वित भएका छन् । छोटो दुरीका लागि सार्वजनिक गाडी र बोलेरोको विकल्प बनेको छ अटो रिक्सा। युवाहरु आकर्षक कमाई हुन थालेपछि विदेशिनबाट रोकिएका छन् । तामाकोशी गाउँपालिकाका वडा नम्बर ४ का सुजन श्रेष्ठले पाँच वर्षसम्म मासु पसल सञ्चालन गरे । तर सोचे अनुरुपको सन्तुष्टि प्राप्त नभएपछि विदेशिने सोच बनाए । आफ्ना साथीहरुले अटो रिक्सा सञ्चालन गरी आम्दानी गरेको देखेपछि उनले विदेशको सपना त्याग्दै अटो रिक्सा सञ्चालन गर्ने निर्णय गरे । छ लाख रुपैयाँमा अटो रिक्सा किने अनि कुदाउन थाले । उनले अटो रिक्सा चलाउन थालेको दुई वर्ष पुरा हुनै लाग्दा लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । पाँच लाखको लागतमा घरसमेत निर्माण गरेका छन्। “सुरुवाती समयमा नगरपालिका र प्रशासनसँग धेरै संघर्ष गर्नु प¥यो । तर हिम्मत हारिएन ।” सुजनले भने “आवश्यक कागजात र प्रक्रिया मिलाएर अटो रिक्सा चलाइयो । कमाई पनि राम्रै भएकोले चरिकोटमै घर पनि जोडियो ।” उनको अटोरिक्सा चरिकोट बजार, दोलखा बजार, पीपलबोट, मकैबारी लगायतका सहज सडक भएका क्षेत्रहरुमा यात्रु र सामान बोकेर बिहानदेखि साँझसम्म कुद्ने गरेको छ । सुजनले अटो रिक्सा चलाएर दैनिक दुई हजार देखि १५ सय सम्म कमाउने गरेका छन्। उमेरले २५ औँ वर्षमा दौडिरहेका सुजन कर्मलाई धर्म ठानेर यात्रुको सेवामा तत्लिन भएका छन् । यही कर्ममा रमाउने सुजनका श्रीमती र दुई सन्तान पनि सुखसयलमा रमाउन पाएका छन्। कोरोना भाइरस नियन्त्रण तथा न्यूनिकरणका लागि गरिएको निषेधाज्ञामा सम्पूर्ण सवारीसगैँ उनको अटोरिक्साले पनि गुड्न पाएन। जस कारण उनलाई चिन्तित बनाएको थियो । तर निषेधाज्ञा खुलेसगैँ स्वास्थ्य मापदण्ड पालना गर्दै उनको कर्म सुचारु भएको छ ।
Be the first to comment on "विवाद बीच सुरु भएकाे सेवा"