दीक्षण समाचार
चरिकोट, असार ७
दोलखामा एक साता सम्मको लागि निषेधाज्ञा थप गरिएको छ । आज राती १२ बजेदेखि १४ गते राती १२ बजे सम्म लागू हुने गरी निषेधाज्ञा थपिएको हो । नेपाल सरकार (म.प)को निर्णायानुसार प्राप्त अधिकार, कोभिड संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा प्रमुख जिल्ला अधिकारबाट निषेधाज्ञा जारी भएको हो।
पूर्ण रुपमा निषेधाज्ञा खुकुलो बनाएमा जोखिम थप बढ्ने विश्लेषण पछि निश्चित पसल व्यवसाय मात्र सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । उनका अनुसार निषेधाज्ञाको समयमा जिल्लाका बजार, पसल, व्यापार, व्यवसाय यसअघि तोकिएको समयसम्म मात्र सञ्चालन गर्न पाइने छ ।
निजी तथा सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्ध कायमै राखिएको छ। त्यसैगरी सभा, सम्मेलन, गोष्ठि, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, होटल, रिर्सोट, मनोरञ्जन स्थल, शैलुन, व्युटिपार्लर बन्द गर्ने, फुटसल, जिमखाना, पुस्तकालय, खेलमैदानमा हुने खेलकुद, धार्मिक तथा सांस्कृतिक र मानिसको भिडभाड हुने कुनैपनि गतिविधी गर्न नपाइने बताइएको छ । अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैँक, सहकारी तथा वित्तिय संस्थाहरुले एक चौथाई कर्मचारी मात्रै राखी स्वास्थ्य मापदण्ड पालना गरी कार्यालय सञ्चालन गर्न पाउने छन् ।
सरकारी कारोबार गर्ने बैँक आइतबार देखि शुक्रबार सम्म, वित्तिय संस्था एवं सहकारी संस्थाहरुबाट हप्ताको आइतबार, मंगलबार र बिहीबार गरी तीन दिन मात्र सेवा सञ्चालन गर्न पाइने छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदन गरिने नागरिकता, राहदानी तथा राष्ट्रिय परिचय पत्रको कार्य, मालपोत कार्यालयको जग्गा प्रशासन सम्बन्धि सेवा, नापी कार्यालयबाबट गरिने कार्य तथा स्थानीय तहले सकारी कार्यालयबाट हुने कामको लागि प्रदान गरिने सिफारिस लगायतका कार्य स्थगित गरिएको बताइएको छ ।
Be the first to comment on "दोलखामा निरन्तर निषेधाज्ञा"