इश्वर बिश्वकर्मा
चरिकोट, जेठ १६
दोलखाको मेलुङ गाउँपालिकामा पहिरोले भत्काएको घ्याङखोला सिंचाइ आयोजना अन्तर्गतको कुलो ३ वर्षपछि पुनः सञ्चालनमा आएको छ । बागमती प्रदेश सरकारको ६५ लाख र पालिकाको ५६ लाख गरी १ करोड २१ लाख रुपैयाँ लागतमा मर्मतसम्भार गरिएपछि कुलो सञ्चालनमा आएको हो । उपभोक्ता समितिमार्फत गत वर्षको फागूनदेखि मर्मत सम्भारको काम सुरु गरिएकोमा यो वर्ष सम्पन्न भएको हो । शनिबार गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठ, वडा नं. ३ का वडाध्यक्ष हिरा थाेकर र वडा नं. १ का वडाध्यक्ष इश्वर कोइरालाले सिंचाइ कुलो निरीक्षण गरे । कुलो मर्मतसम्भारको काम गुणस्तरीय रहेको जानकारी दिदैँ वडाध्यक्ष कोइरालाले भने ‘ गुणस्तरयुक्त काम भएकोले यसबाट दिगो रुपमा फाइदा लिन सकिन्छ । अब भने किसानले सिंचाइको लागि चिन्ता लिनुपर्ने अवस्था अन्त्य भएको छ ।’ यो आयोजनाबाट ६ वटा टोलका किसानहरु प्रत्यक्ष लाभान्वित हुने उनको भनाई रहेका छ ।
२०३९ सालदेखि सञ्चालनमा रहेको करिब ५ किलोमिटरको पक्की कुलो २०७५ को अविरल वर्षाको पहिरोले भत्काईदिएपछि सिंचाइको सुविधाबाट किसानहरु वञ्चित हुनुपरेको थियो । अन्नबाली तथा तरकारी उत्पादन गर्न सिंचाइको चिन्ता तथा हैरानी व्योर्हानुपर्ने बाध्यता थियो । कतिपयले वषौँदेखि गर्दै आएको खेतिपाती पनि छाडेका कारण खेतबारी बाँझै थिए । तर ३ वर्षको हैरानी र कष्टप्रद पर्खाइपछि किसानले सहज सिंचाइ सुविधा प्राप्त गर्ने भएका छन् । कुलो सञ्चालन भएपछि पालिकाको अन्न भण्डारको रुपमा लिइने पवटीमा खेतिकिसानीका लागी सहज भएको छ । यसले गर्दा पवटीमा अन्न तथा तरकारी बाली उत्पादनमा बृद्धि हुने स्थानीय कृष्ण कालिकोटेले बताए ।
Be the first to comment on "अब हुदैँन पवटीमा सिंचाइको चिन्ता"