दोलखाका २ वटा वडा सिल

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ ४
विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कारोना महामारी तीव्र रुपमा फैलिन थालेपछि दोलखाका २ वटा वडा पूर्ण रुपमा सिल गरिएको छ । जिल्लाको तामाकोशी गाउँपालिका वडा नं. ५ सहरे र गौरीशंकर गाउँपालिकाको वडा नं. ७ मार्बूलाई सिल गरिएको हो । जिल्ला भर निषेधाज्ञा लागू गरिएको भएपनि वडामा मानिसको भिडभाड तथा ओहोरदोहोरको क्रम नरोकिएपछि कोरोना संक्रमण फैलिरहेको अवस्थामा थप मानिसमा संक्रमण फैलन नदिन यस्तो उपाय अपनाइएको बताइएको छ ।
गौरीशंकर गाउँपालिका वडा नं. ७ को वडा कार्यालयले एक सूचना जारी गर्दै वडा समिति तथा विपद् व्यवस्थापन समिति मार्बुको निर्णय अनुसार र गौरीशंकर गाउँपालिका कार्यालयको अनुमति बमोजिम सोमबारदेखि लागू हुने गरी जेठ १० गतेसम्मका लागि सिल गरिएको बताएको छ । सूचनामा वडा पूर्ण रुपमा सिल गरिएकोले मानिसको आवात जावत र सवारी साधन सञ्चालन नगर्न र नगराउन भनिएको छ । यस्तै तामाकोशी गाउँपालिका वडा नं. ५ सहरे वडा कार्यालयले एक सूचना जारी गरी सोमबारदेखि जेठ ८ गतेसम्मको लागी वडा सिल गरेको जानकारी गराएको छ । वडाका नागरिकको स्वाबको संकलन गरी पिसिआर परीक्षण गरिएकोमा अधिकांशमा कोरोना संक्रमण पुष्टि भएकाले समुदायस्तरमा कोरोना फैलिन नदिन स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेक वडाका अन्य सेवाहरु पूर्ण रुपमा बन्द रहने गरी सिल गरिएको हो । वडाध्यक्ष राजकुमार रोकाहाका अनुसार सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु तथा फलफूल तथा तरकारी पसल बिहान ६ बजे देखि ८ बजेसम्म मात्र खोल्न पाइने छ । सोमबार सम्ममा सहरेका ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Shares

Be the first to comment on "दोलखाका २ वटा वडा सिल"

Leave a comment

Your email address will not be published.


*